-ईश्वर पाेखरेल
२०५० जेठ ३ गते जननेता मदन भण्डारीको रहस्यमय तथा षड्यन्त्रपूर्ण मृत्युपछि नेकपा (एमाले) पंक्तिमा मात्र होइन, आम जनतामा समेत शोकको लहर छायो । पार्टी पंक्तिमा कति शोक र चिन्ता छाएको थियो भन्ने कुरा अध्यक्ष मनमोहन अधिकारीले त्रिशूलीको बगरमा मदनको शव खोजी गर्दै नभेटेपछि डाको छोडेर रूनु भएको प्रशंगले मदनप्रति माया , सम्मान र समर्पणभाव कति उत्कर्षमा थियो भन्ने कुरालाई दर्शाउँछ । वास्तवमा , त्यो , मदनको मृत्युमा पार्टी पंक्तिको प्रतिनिधि भाव पनि थियो !
दुर्घटनाको समाचार आएदेखि मुलुकभरिकै जनता चिन्तामा परेका थिए, गाडी नभेटिएको, मदन-आश्रितको कुनै सुईंको – संकेत नमिलीरहेको, अझ पछि मदनका वारेमा केही थाहा नपाइरहेको, पछि अस्वाभाविक अवस्थामा वहाँको शव भेटिएको, वहाँको शव भरतपुर हुँदै काठमाण्डौंमा ल्याइपुर्याएपछि शोकाकूल जनसमूदायको उपस्थिति, जेठ ५ गतेदेखि ८ गतेसम्म काठमाण्डौको दशरथ रंगशालामा वहाँहरूको शवमा श्रद्धान्जली व्यक्त गर्न उपस्थित लाखौं जनसमूदायले वहाँहरूप्रति व्यक्त गरेको श्रद्धान्जली , झण्डै पाँच लाख जनताको अश्रुपुरित शोकाकूल उपस्थितिमा भएको शव – यात्रा आदिले मदन-आश्रितप्रति जनताको अपार माया र सम्मानलाई प्रकट गरेको थियो ।
कसैले कल्पना सम्म पनि गरेका थिएनन् होला , कसैको मृत्युमा यस किसिमको जनआलोडन पैदा हुनेछ ! तर भयो त्यस्तै ! शव -यात्रामा शोकाकूल भएर उपस्थित लाखौं जनतासित शोकका लागि ऐक्यवद्धता जनाउँदै घरघरबाट असंख्य नागरिकहरू निक्लिएका थिए । शोकका लागि तर अत्यन्त अभूतपूर्व स्थिति !
यस किसिमको स्वत:स्फूर्त उपस्थिति जहाँ राजदरवारका प्रतिनिधिदेखि सबै राजनीतिक पार्टीहरू, विभिन्न संगठन-संस्थाहरूका नेता वा तिनका प्रतिनिधिहरू देखि सामान्य श्रमजीवीसम्मका नागरिकहरूको अभूतपूर्व उपस्थिति ! यस्तो केले संभव भयो, कसरी संभव भयो ! नभूतो , न भविष्यति ..!! वास्तवमा मदन साँच्चै आम नेपाली जन जनका हृदयमा वास वनाइसकेको एउटा विशिष्ट प्रतिभावान राजनेता वनिसक्नुभएको रहेछ !!
मदन – आश्रितको दु:खद निधनप्रति शोक मनाउन र श्रद्धान्जली व्यक्त गर्न नेकपा (एमाले) को केन्द्रीय कमिटीले १२७ सदस्यीय ” अन्त्यष्टी व्यवस्थापन समिति ” गठन गर्यो । पार्टीका सबै औपचारिक कार्यक्रमहरू रद्द गर्रिए , पार्टी कार्यालयहरूमा राखिएका झण्डाहरू झुकाइए । तेह्रौं दिनमा अर्थात् जेष्ठ १५ गते पार्टीव्यापी र जनस्तरमा श्रद्धान्जली कार्यक्रमहरूको आयोजना गरिए ।
पचहत्तरै जिल्लाका सदरमुकाम तथा गाउँ – शहरहरूमा श्रद्धान्जली सभाहरू गरिए, ती सबै ठाउँमा विशेष किसिमका कलसहरू वनाएर दिवंगत नेताहरूको अस्तु पुर्याइयो र देशभरीका नदी नालाहरू , तलाउ पोखरीहरूमा अस्तु लगेर सेलाउने काम गरियो । मेची महाकाली मात्र होइन, सर्वोच्च उचाइमा रहेको मनांगको तिलिचो ताल पनि मदन-आश्रितको अस्तु सेलाउने महत्वपूर्ण र ऐतिहासिक स्थल वन्यो ।
मदनको अस्तु सहित पार्टीका नेता कार्यकर्ताहरू जनताको ठूलो उपस्थितिमा ती ठाउँहरूमा श्रद्धान्जली कार्यक्रमहरू गरिएका थिए । ती सबै ठाउँहरूमा केन्द्रीय तहका नेताहरूको सहभागिता रह्यो । सबै ठाउँमा आयोजना गरिएका ती कार्यक्रमहरूमा जनताको उल्लेखनीय सहभागिता रह्यो ।
ती कार्यक्रमहरूमा मदन-आश्रितको नाममा विद्यालयहरू, अस्पतालहरू, सार्वजनिक भवनहरू, पार्क र वगैंचाहरू वनाउने घोषणा गरिए । विभिन्न ठाउँमा स्मृति केन्द्रहरू तथा छात्रवृत्ति – कोषको घोषणा गरियो । ती श्रद्धान्जली कार्यक्रमहरूमा सिंगो पार्टी पंक्तिद्वारा शोकलाई शक्तिमा वदल्ने तथा पार्टीलाई नयाँस्तरमा एकतावद्ध वनाउने संकल्प गरियो ।
मदन भण्डारी र जीवराज आश्रितले आफूहरू जीवीत रहुन्जेल आफ्नो स्पष्ट विचार , उल्लेखनीय कृयाशीलता, पार्टी र आन्दोलनप्रति आफ्नो निष्ठा र निरन्तरतालाई उदाहरणीय रूपमा प्रस्तुत गरिरहनुभो । वहाँहरूले विचारमा ओजस्वीता , दृढता र प्रखरता , प्रस्तुतिमा स्पष्टता ,व्यवहारमा लचकता देखाउनु भयो। वहाँहरूका यी विशेषता तथा विचार र योगदानहरूलाई चीरस्थायी वनाउन दिवंगत नेताहरूका नाममा पार्टी अध्यक्ष मनमोहन अधिकारीको संरक्षकत्वमा ” मदन-आश्रित स्मृति प्रतिष्ठान ” गठन गर्ने निर्णय गरियो ।
मदन भण्डारीलाई ” जन नेता ” को उपाधी दिने निर्णय गरियो, वहुदलीय जनवाद नै पार्टीको मूल नीति रहने घोषणा गरियो । दिवंगत कमरेड द्वयलाई श्रद्धा र पार्टीप्रति समवेदना प्रकट गर्ने महानुभावहरूप्रति हार्दिक कृतज्ञता प्रकट गर्ने निर्णय गरियो , षडयन्त्रपूरण हत्यामा संलग्न अमर लामालाई गद्दार घोषणा गरियो , सरकारले गठन गरेको प्रचण्डराज ‘ अनिल’को एक सदस्यीय छानविन आयोगले दिएको प्रतिवेदनलाई अस्वीकार गर्दै सरकारी लापरवाहीको भत्सर्ना गरियो ।
पार्टी केन्द्रले ईश्वर पोखरेलको संपादनमा विशेष प्रकाशन – ” श्रद्धान्जली -स्मारिका ” प्रकाशन गर्ने निर्णय गर्यो । र, वहाँहरूको दु:खद निधन भएको छ महिनापछि अर्थात् २०५० साल कार्तिकमा ” मदन- आश्रित श्रद्धान्जली स्मारिका ” प्रकाशन गरियो । पार्टी केन्द्रले यी सबै कामहरू मदन -आश्रितको हत्या लगत्तै वसेको केन्द्रीय कमिटीका विभिन्न वैठकहरूमा गरेको थियो ।
श्रद्धान्जली कार्यक्रमहरू औपचारिक रूपमा सम्पन्न भएपछि रहस्यमय र षडयन्त्र तरिकाले मदन-आश्रितको हत्या भएको विरोधमा देशव्यापी कार्यक्रमहरू आयोजना गरिए । षडयन्त्रपूर्ण हत्याको विरोध, त्यसको छानवीन तथा अपराधीमाथि कारवाहीको माग गर्दै सिंगो देश जुरूक्क उठेको थियो । सरकारीस्तरमा गठन गरिएको ‘ अनिल ‘ आयोग ले सार्वजनिक गरेको प्रतिवेदनका निष्कर्षप्रति गंभीर असहमती राख्दै सर्वोच्च अदालतका वहालवाला न्यायाधीसको अध्यक्षतामा उच्चस्तरीय, अधिकार सम्पन्न र न्यायिक आयोग गठन गर्नुपर्ने मागसहीत नेकपा (एमाले) को सिंगो पंक्ति सशक्त ढंगले परिचालित भएको थियो ।
आफ्ना प्रिय नेताप्रतिको अगाध श्रद्धा र सम्मान तथा न्यायिक छानविनका लागि उठाइएको आवाजलाई काँग्रेसको गिरिजा सरकारले भीषण दमन गरेर दवाउने प्रयत्न गर्यो , तर दवाउन संभव भएन । सिंगै मुलुक आन्दोलनमय वन्यो , एमालेले अगुवाइ गरेको आन्दोलनमाथि सरकारले दमन गर्र्दा ठूलो धनजनको क्षति भयो ।
आन्दोलनका क्रममा पुलिसको गोलीबाट नेपाली नागरिकहरू मारिए । नेपाली काँग्रेस , त्यसमा पनि त्यसका सभापति र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको दम्भ र अधिनायकत्वादी – सर्वसत्तावादी चिन्तन, आचरण र शैलीका कारण त्यो मुठभेडको स्थिति वनेको थियो । पछि , आन्दोलनले ठूलो क्षति पुर्याएपछि मदन-आश्रितको रहस्यमय हत्याको न्यायिक छानविन गर्न सर्वोच्च अदालतका वहालवाला न्यायाधीसको अगुवाइमा आयोग वनाउन गिरिजा नेतृत्वको सरकार तयार भयो ।
रहस्यमय तरिकाले भएको हत्याको तथ्य-सत्य पत्ता लगाउन अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गर्ने लगायतका आन्दोलनसित गाँसिएका विभिन्न मागहरू पुरा गर्न सरकार तत्पर भएको थियो । यसरी , आफ्ना प्रिय तथा आदरणीय नेताहरूको दु:खद निधनको परिणाम सिंगो मुलुकले एउटा अप्रिय अध्यायको सामना गर्नु पर्यो । मदन मरेर जानुभयो तर वहाँले एउट उन्नत विचार र सुदृढ तथा राष्ट्रव्यापी जनआधार भएको पार्टी विरासतका रूपमा छोडेर जानु भयो !!
(कम्युनिष्ट आन्दोलनका नविन विचारक तथा नेपालको कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका नायक जननेता युगपुरुस मदन भण्डारीको ६९ औँ जन्मजयन्तीको अवसरमा उहाँप्रति गहिरो श्रद्धासुमन अर्पण गर्दै भण्डारीका सहयोद्धा नेकपाका सचिवालय सदस्य एवं उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले भण्डारीको मृत्युका सन्दर्भमा तयार पारेको संस्मरण यहाँ पुन प्रकाशन गरिएको छ ।-सम्पादक)
प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार ०८:३०
दैनिकीबाट
प्रतिक्रिया