त्रिशूली नदीको सतर्कता तह पार, गजुरी गाउँपालिकाको उच्च सतर्कता अपनाउन आग्रह

  तपाईंको न्यूज |

२४ असार २०८२, मंगलवार ०४:०३

गजुरी, धादिङ – पछिल्लो समयको वर्षाका कारण त्रिशूली नदीमा पानीको सतह तीव्र रूपमा बढ्दै गएपछि गजुरी गाउँपालिकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्व सूचनाका आधारमा बेनिघाटस्थित जलमापन केन्द्रमा नदीको जलस्तर सतर्कता तह पार गरेको जानकारी दिँदै गाउँपालिकाले जोखिम न्यूनीकरणका लागि अग्रिम सावधानी अपनाउन अनुरोध गरेको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होम बहादुर राजतले मङ्गलवार जारी गरेको सूचनामा नदी किनार आसपास बसोबास गर्ने नागरिकहरूलाई संभावित बाढीबाट सुरक्षित रहन आवश्यक सावधानी अपनाउन र प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ।

स्थानिय तहले जोखिम क्षेत्रको अनुगमन बढाएको छ भने आकस्मिक अवस्थाको तयारीस्वरूप स्थानीयवासीलाई सचेत गराउने कार्य पनि भइरहेको जनाइएको छ।

प्रतिक्रिया