सर्लाहीको मलंगवामा अघोषित लोडसेडिङ, स्थानीय आन्दोलित

  सम्पादक |

काठमाडौँ । सर्लाहीको मलंगवामा अनियमित रूपमा लगातार विद्युत् कटौती भएपछि स्थानीयवासी आन्दोलित भएका छन् ।

अघोषित लोडसेडिङ र अनियमित विद्युत् कटौतीको विरोधमा मलंगवाबासीले नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा प्रदर्शन गरेका छन् । आइतबार सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका–८ स्थित विद्युत् प्राधिकरण वितरण केन्द्रको मुख्य प्रवेशद्वारमा स्थानीयवासीले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । युवा नेता शमिमबाबु खानको नेतृत्वमा स्थानीयले नाराबाजी गरेका थिए ।

केही हप्तादेखि विद्युत् प्राधिकरणको लापरबाहीका कारण अघोषित लोडसेडिङ बढेकोले त्यसको सुधारका लागि सम्बन्धित निकायलाई दबाब र ध्यानाकर्षण गराउन बाध्य भएर प्रदर्शन गर्नुपरेको खानले बताउनुभयो । ‘खाना खाने बेला भयो बिजुली जान्छ, विद्युत् गएपछि गर्मीले बसिसक्नु हुँदैन, नागरिक हैरान भएका छन्, सर्लाही जिल्लाका जनताको समस्यामा विद्युत् प्राधिकरण जिम्मेवार छैन’, उहाँले भन्नुभयो।

विद्युत् प्राधिकरणको लापरबाहीका कारण मलंगवा र आसपासका क्षेत्रमा विद्युतको अघोषित लोडसेडिङ र अनियमित आपूर्ति भइरहेको छ । जसले गर्दा स्थानीय हैरान भएका छन् । बारम्बार विद्युत् आउने र जाने हुँदा सर्वसाधारणका विद्युतीय सामाग्रीमा समेत क्षति पुग्ने गरेको छ।

प्रतिक्रिया