बेनिघाट रोराङ गाउँपालिका-१० डुक्राङ्गका बालबालिका गरिबीले गर्दा खानेकुराकै अभावमा भोकै विद्यालय जान्छन् ।
बुबाआमा सँगै भएका बालबालिका बेलुका ज्याला मजदुरी गरेर ल्याएको केही अन्नपात भए सोही खानेकुरा बेलुका खाएको भरमा विहान विद्यालय जाने गरेको पाइन्छ ।
डुक्राङ्गमा रहेको जोगिमारा आधारभुत विद्यालयमा पढ्न आउने अधिकांश विद्यार्थी खाद्यान्न, विद्यालय पोशाक र स्टेशनरी नभए पनि विद्यालय आउने गरेको विद्यालयका प्रधानाध्यापक योबकुमारी मरहट्ठाले बताउनुभयो ।
बुबाआमा नहुने बालबालिकाको अवस्था झनै दयनीय छ । बालविकासमा अध्यायन गर्ने ५ वर्षीया विपना चेपाङका आमा अस्मिता र बुबा राजनले छुट्टाछुट्टै दोस्रो विवाह गरी अन्यत्र गए । विपना घरमा हजुरआमासँग बस्नु भएको छ ।
खाने कुरा अभाव र गरिबीले विपनालाई सताएको छ । प्राय भोकै विद्यालय आउने विपना विद्यालयले दिने खाजा कार्यक्रमको खाजा खाने समय पर्खिने गरेको प्रधानाध्यापक मरहट्ठाले बताउनुभयो ।
कक्षा २ का शान्ति चेपाङ, कक्षा १ का रोजिता चेपाङ र बालविकास कक्षाका शंकर चेपाङ एउटै परिवारका बालबालिका हुन् ।
उनिहरुका बुबाले दुस्रो विवाह गरेका छन् । रक्सि खाएर घरमा झगडा गर्ने गरेपछि बालबालिकाहरू भोकै विद्यालय जाने गरेको पाइएको छ ।
घरेलु हिंसामा बालबालिकाले समेत प्रत्यक्ष प्रभावित हुने हुनाले समस्या आउने गरेको विद्यालयले समेत जानकारी राख्ने गरेको छ ।
कक्षा १ का जीवन चेपाङ घरमा खानेकुरा अभावले धेरैजसो भोकै आउनेमध्ये पर्छन् ।
डुकराङ गाउँमा मकै र कोदोको उत्पादन भए पनि न्वागी पर्व मनाएसँगै खानेकुराको अभाव भईसको छ ।
आफ्नो पाखो बारीले १/२ महिनाका लागि मात्र खानेकुरा पुग्ने र बाँकी समय ज्याला मजदुरी गर्नु पर्ने भएपछि त्यस क्षेत्रका अभिभावक हरेक दिन मजदुरी गर्न जानुपर्ने बाध्यता छ ।
यस क्षेत्रमा बसोवास गर्ने चेपाङ मात्र नभएर ब्राह्मण क्षेत्रीका बालबालिका समेतले अभाव र गरिबीको सामना गरिरहेका छन् ।
दशैको मुखमा आईपुग्दा दुई चार ओटा घरबाहेक सबै घरमा खानेकुरा सकिएको छ ।
यस आधारभुत विद्यालयमा ३१ जना बालबालिका अध्यायन गर्दै आएका छन् ।
स्थानीय सरकारले अति विपन्न परिवारका लागि योजना ल्याएर भोकमरी हटाउनुपर्नेमा नसकेका कारण व्यवस्था फेरिए पनि अवस्था भने फेरिन नसको चेपाङ समुदायबाट शिक्षक बन्न सफल हुनु भएका तिलक चेपाङ बताउनु हुन्छ।सिताराम अधिकारी(ईन्सेक)
प्रतिक्रिया