– लक्ष्मण शर्मा
——————
नेपालमा भूकम्पको कुरा गर्दा सानै छँदा भारतीय र तिब्बती जमिनका पाटाहरु सरेर, खप्टिएर भूकम्प जाने कुरा सुनेको हो। पछि नि मा वि तिर पढ्दा ती दुई पाटाहरुको बिचमा परेको टेथिस सागरको दुःखद अवसान भएको कुरा समेत थपियो। मि सु नारायण प्रसाद श्रेष्ठद्वारा लिखित सामाजिक शिक्षा ६ को पाठ्यपुस्तकमा त्यसको शीर्षक नै “टेथिस सागरको कथा” थियो । साइन्स पढ्न थाले पछि कतै “टेक्नोटिक ड्रिफ़्ट” को सिध्दान्त पढियो।यो सिद्दान्तका आविश्कारक Alfred Wegner ले के कसरी तथ्य जुटाएर, विष्लेषण गर्दै सिध्दान्त प्रतिपादन गरेकाथिए, मलाई अझै थाहा छैन। त्यो पनि कथा जस्तै त भयो। त्यो तिलस्मी लाग्ने कथामा पूर्वी अफ्रिकाबाट भाँचिएर सरेको जमिनको टुक्रा भारत बनेर हालको तिब्बती भूभागसंग ठोकिएको कुरा थियो। त्यहि ठक्करले महान हिमालय पर्वत श्रृंखला बनेर अझै अग्लो हुँदै छ रे। अझै पनि साइन्स भनेर के गर्नु, प्रयोग न प्रमाणमा सुनेको कुरा कथा जस्तै लाग्ने नै भयो।
२०१३ मा अमेरिकाको फूलब्राइटवाला (टिचिंग एक्सिलेन्सी अवार्ड) फेलोसिपमा छनौटमा पर्न केहि परियोजनाहरु बनाउनुपर्ने थियो। त्यहांको ग्रेड ९ को साइन्स विषयमा त्यहि पृथ्वीको पाताहरु सर्ने कुरा रहेछ, तर कसरी बुझाउलान्, पक्कै गार्हो होला, म केहि गर्छु भनेर योजना बनाएँ। कारण म हिमालयको पखेरोबाट गएको शिक्षक थिएँ, जहाँ त्यो महान घटनाको प्रमाणहरु हुनुपर्छ। यहि चुनौतिले सायद मलाई छान्यो पनि।मैले यो पाठलाई, शीर्षक ” टेक्नोटिक ड्रिफ्ट – एविडेन्सेज फ्रम द हिमालायज” बनाएकोथिएँ। त्यसको लागि मैले “अब्जेक्ट बेस्ड लर्निग” सिकाई रणनीति प्रयोग गरेको थिएँ। मैले त्यसको लागि स्वर्गीय टेथिस सागरबाट प्रमाणहरु जुटा्उनु थियो।सो समुद्री जीवको फोसिल भएको १ पाउ जतिको शालिग्राम बसन्तपुरमा ३०० रुपियाँमा किनेको थिएँ। त्यसैगरी सिरे नुन (हिमालयन साल्ट रे) को ढिक्कै जुटाएको थिएँ। अनि हाम्रो पहाडको टुप्पामा पाइने बालुवाको स्टक भएको रिपोर्ट र फोटो भिडियो भएको वेबलिंक थियो। यसले स्वाण्टन हाइस्कूल, ओहायोमा मेरो लेसन डेलिभरी र अन्तर्क्रियामा राम्रै गर्यो।पहिले त्यहाँ समुद्रको फोसिलमा जमीनवाला प्राचिन विरुवा, उन्युको छाप भनेर देखाउने साना साना ढुंगाहरु देखाउने गरेको रहेछ। मेरो मुठ्ठीभरिको शालिग्राम, सिरे नुन र भिडियो सामाग्री लिएर, छामेर हेरेर विद्यार्थीहरु रमाए। सधैँ सामाजिक शिक्षा जसरी पढाउनुपर्ने विषयवस्तुलाई साइन्स जसरी अवलोकन गराउँदै विशेषतामा छलफल गराउँदै, निर्कर्ष निकाल्दै पढाइयो भनेर म पनि सन्तुष्ट भएँ। मेरो गाइड गर्ने शिक्षकले खूब सराहना गरिन्, त्यो शालिग्राम, नुनको डल्लो तिनलाई नै उपहार दिैएर नेपाल फर्किएँ।
आज म केन्याको राजधानी नैरोबीबाट १०० कि मी जति पश्मिममा पर्ने नाइभाशा तालको छेउमा बसेर फुर्सदको उपयोग गर्दै यो स्ट्याटस लेखिरहेकोछु। यो ठाउँ पूर्वी अफ्रिकाको उत्तरदेखि दक्षिण हुदै जाने ६००० किमि जतिको बहुदेशीय ” ग्रेट रिफ़्ट भ्याली” मा पर्दो रहेछ। आज बिहान यता आउँदा ५०-६० फ़ीट फराकिलो र देखेजति लामो पृथ्वी चिरिएको देखेँ, के हो यो भनेर सोधेको लोकल इग्लिसमा राम्रो बुझिन। होटलमा आएर युट्युब हेरेको त यो ग्रेट रिफ्ट भनेकै अनौठो भौगर्भिक घटना पो रहेछ। अफ्रिकाको पूर्वी भाग त फेरि पहिले भारतीय खण्डले अफ्रिका छोडेर पूर्व उत्तरतिर हिन्द महासागर हुदै सरेर तिब्बतमा ठोकिन पुगे झैँ अहिले पनि छुट्टिँदै पो रहेछ। उत्तरमा येमनसंगै भएको एडेनको खाडी देखि मोजाम्बिकसम्म फाट्दै पो रहेछ। त्यो लाइमा पर्ने यो ग्रेट रिफ्ट भ्यालीमा जमिनमा अनौठा घटनाहरु भइरहेका रहेछन्। जि्उँदा र मरेका ज्वालामुखीहरु, ताल तलैयाहरु, तातो पानीका झरनाहरु, सल्फरका यौगिक आदि भएका लाभा जमेर बनेका चट्टनहरु सामान्य रहेछन।आज एउटा ज्वालामुखी पहाड पनि देखेँ। आज म पृथ्वीको अनौठो स्थान अर्थात भाँचिन लागेको डिलमा पो पुगेको रहेछु। (इच्छा हुनेले थप अध्ययन गर्नुहोला) ।
प्रतिक्रिया