– नरनाथ लुइँटेल
वीर अस्पतालमै बास बसेको तेस्रो दिन ०७९ चैत ११ गते आइतबार बिहान ९ बजे मेरो शल्यक्रियाको समय निर्धारित थियो । म सधैँ झैँ पाँचै बजे ब्युँझिएँछु । मेल र मेसेन्जर चेक गरेँ । आज पोष्ट गर्ने फित्कौलीको सामग्री पर्याप्त रहेछन् । एउटै फाइलमा बटुलबाटुल पारेर सम्पादन एवम् शुद्धीकरण गरिसक्दा छ बजिहाल्यो । ठीक छ बजे एउटा औषधी सेवन गर्न डाक्टरले सुझाउनु भएको थियो, खाएँ । त्यसपछि भटाभट पोष्ट गर्न थालेँ एक, दुई, तीन,…. ६ वटा पुग्यो । पोष्ट भएका सामग्रीका लेखकसमक्ष सूचना स्वरुप मेसेन्जरमा लिङ्क पठाएर पोष्ट भएका सामग्रीलाई फेसबुकमा सेयर गरिसक्नासाथ राजेशले आजको कार्टुन मेलमा पठाइसकेको सूचना मेसेन्जरमै सूचित गर्नुभो । त्यसलाई शीर्षक दिन केही बेर सोच्नु पथ्र्यो तर समय छैन । कार्टुन हेर्दा मनमा जे आयो त्यही शीर्षक राखी कार्टुन पनि पोष्ट । आठ नबज्दै गाउन फेर्ने सूचना सहित अपरेसनको लागि अवश्यक सामग्रीको पोको बोकेर छोरा गौरव हाजिर भयो । नर्सहरूले फेरि एकपटक प्रेसर, पल्स, ज्वरो जाँच गरेपछि गाउन पहिरेर अपरेसन थिएटरतर्फ जान आदेश दिए । थिएटरमा प्रवेश गरी बेडमा सुतेपछि देब्रे हातमा क्यानुला जोड्दा चस्स भएको थाहा छ, अनि पाखुरासम्म चि…सो सर्दै गएको चाल पाउँदै थिएँ । त्यसपछि चाहिँ केही अत्तोपत्तो भएन ।
त्यस्तै साढे तीन घन्टापछि म ब्युँझिँदा पोष्ट अपरेटिभ रुममा रहेछु । नर्सले स्लाइन पानीको बोटल फेर्दैरहिछन् । मेरो होस खुलेको चाल पाएर मलाई बोलाइन् । मलाई भोलिपल्ट बिहान ब्युँझेको हुँ भन्ने भ्रम परेछ कि क्या हो, नर्ससँग मेरो ल्यापटप कहाँ छ भनेर सोधेछु । उनी एकपटक हाँसिन् र सोधिन्- किन चाहियो ल्यापटप ? मैले भनेछु- फित्कौली डटकम अपडेट गर्नुछ । उनलाई के लाग्यो थाहा छैन, लगत्तै मेरो नजरबाट हराइन् र छोरो गौरव देखा पर्यो । पालैपाले गरिमा, गौरव र गरिमाकी आमा र अन्यअन्य…. । यसरी मेरो पित्तथैलीको शल्यक्रिया सफल भयो । मेरो सफल शल्यक्रियामा डा. श्रीकृष्ण श्रेष्ठ र डा.रमेशप्रसाद उपाध्यायको नेतृत्व टोलीमा संलग्न सबै स्वास्थ्यकर्मी, कर्मचारी, मेरो छोरो गौरव, छोरी गरिमा र मञ्जु, उनीहरूकी आमा विमला, सहृदयतापूर्वक चासो लिएर असपतालमै पुग्नु हुने सबै मित्रजनप्रति आभारसहित धन्यवाद व्यक्त गर्दछु । घरमै आएर र सञ्जालबाट पनि मप्रति अगाध माया सद्भाव व्यक्त गर्दै स्वास्थ्यलाभको कामना गर्ने सहृदयी मित्रजनप्रति आभारी छु । अहिले अस्पतालबाट डिस्चार्ज भएर घरमै आराम गरिरहेको छु । यो आरामीकै अवस्थामा पनि फित्कौली डटकम गुटुङटुङ अपडेट भइरहेको छ ।
०७९ चैत १५ गते
फित्कौली अड्डा, कलङ्की
काठमाडौं
प्रतिक्रिया