एनआरएनए जापानको महासचिवमा विश्वास गौतम (खगराज)को उम्मेदवारी, सुदृढ संस्था निर्माणमा जोड

  तपाईंको न्यूज |

३१ असार २०८२, मंगलवार १४:३६

टोकियो/जापान

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको चुनाव (२०२५–२०२७ कार्यकाल) का लागि विश्वास गौतम (खगराज)ले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। आगामी जुलाई २७ मा हुने १२औं महाधिवेशनमार्फत आफूलाई महासचिवमा विजयी गराउन नेपाली समुदायसँग उनले आग्रह गरेका छन्।

“शब्दभन्दा काममा विश्वास राख्ने मेरो प्रतिबद्धता सधैं अटल छ,” उम्मेदवारी घोषणामा गौतमले उल्लेख गरेका छन्। एनआरएनए जापानको संस्थागत विकास र सुदृढिकरणका लागि संगठित प्रयास आवश्यक रहेको भन्दै उनले महासचिव पदबाट मुख्य भूमिका निर्वाह गर्ने अठोट व्यक्त गरेका छन्।

गौतमले एनआरएनए जापानमा सहभागी सम्पूर्ण सदस्यहरू, साथै उनीहरूका नजिकका साथीभाइ र आफन्तहरूमार्फत आफूलाई समर्थन गर्न विनम्र अनुरोध गरेका छन्। “तपाईंहरूले दिएको विश्वासमाथि कदापि तुषारापात हुन दिने छैन,” भन्ने उनको भनाइ छ।

गैरआवासीय नेपाली समाजमा लामो समयदेखि सक्रिय रहेका गौतम एनआरएनएमार्फत जापानस्थित नेपाली समुदायको हकहितका विषयमा निरन्तर संलग्न रहँदै आएका छन्।

प्रतिक्रिया