युद्ध मैदानबाटै उदाएका माओवादी ‘विवेक’जो माओवाद खोजिरहेछ

  सम्पादक |

धादिङ

विद्यमान राज्य व्यवस्थाबाट देश र जनताको समृद्धि सम्भव नभएको भन्दै तत्कालीन माओवादीले वि.सं. २०५२ मा नेपालमा जनयुद्ध सुरु ग¥यो । दश बर्षसम्म चलेको युद्धमा राज्य र विद्रोही दुवै पक्षबाट हजारौं नेपाली नागरिक मारिए । हजारौं नागरिक घरबार विहीन बने । सयौँ नेपाली आमाहरुको काख रित्तीय, चेलीहरुका सिँउदो पुछिए । हजाराँै बालबालिकाहरु अभिभावक विहिन बने । त्यो भन्दा बढीले शरिरका अंगहरु गुमाए । शरिरभित्र गोली बोकेर बाँचिरहेकाहरु अझै पनि भेटिन्छन् । बीस हजार भन्दा बढीको ज्यान जाने गरी एक दशकसम्म चलेको युद्धले देशमा नयाँ शक्तिशाली राजनीतिक दलको उदय भयो । उक्त राजनैतिक दल हो नेकपा माओवादी ।

नेकपा माओवादीको उदय गराउने योद्धाहरुमध्यका एक हुन् विवेक थपलिया । धादिङको बेनिघाट–रोराङ गाउँपालिका (साविक धुषा गाविस)मा जन्मिएका विवेक जनयुद्धको क्रममा राज्य पक्षबाट आफ्ना पिता, दाई र भाइ मारिएपछि १२ बर्षकै उमेरमा राजनीतिमा होमिएका थिए । भरखरै किसोर अवस्थामा प्रवेश गर्दैगर्दा आफ्ना पिता, दाजुुभाई गुमाउनु पर्दाको पिडाले राज्यप्रति विद्रोहको भाव उनको मनमा पैदा भयो । अनि २०५४ सालदेखि उनी युद्धमा होमिए ।

सुरुमा राज्यले परिवारमाथि गरेको हमला विरुद्ध प्रतिकारमा माओवादी बने । विस्तारै माओवाद बुझ्दै गएपछि नेपाली जनताका लागि माओवादी आवश्यक रहेको उनले बुझे । अनि तत्कालीन राज्य व्यवस्था परिवर्तन गर्न अत्यावश्यक रहेको उनले थाहा पाए । अनि बन्दुकको गोलीबाट सत्ता प्राप्त हुुने माओको सिद्धान्त उनले बुझे । विवेक भन्छन्–‘राज्यले मेरो परिवारमाथि गरेको ज्यादती असह्य भयो अनि युद्धमा होमिए । पछि बुझ्दै जाँदा माओवाद नेपालको माटोले मागेको थाहा पाए । अनि संधैका लागि माओवादी बने ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो स्थानीय तहको चुनाव अघि धादिङको बेनिघाट–रोराङ गाउँपालिकाको गाउँमा डुल्दै गर्दा एक जना माओवादी समर्थकसँग सोधेको थिएँ–‘भोट कसलाई दिने हो ?’ उसको जवाफ थियो–‘विवेक थपलियालाई’ । उसले माओवादीलाई भोट दिन्छु भनेनन् । म एकछिन केही बोलिन । अनि मैले भने–‘तपाईँ माओवादीलाई भोट दिन सक्नुहुन्छ तर विवेक थपलियालाई दिन सक्नुहुन्न । किन की उहाँ चुनावमा उठ्नु भएको छैन ।’ उसले भने–‘त्यसो भए म भोट हाल्न पनि जान्न ।’ उक्त समर्थकले माओवादीलाई भोट हाल्यो या होलेन थाहा छैन तर माओवादी भन्ने वित्तिकै उसको मनमा वास बसेको थियो विवेक थपलिया।

धादिङको दक्षिणी भेग, प्रतिनिधिसभा क्षेत्र नम्बर एक (साविक निर्वाचन क्षेत्र ३) मा माओवादी भन्ने वित्तिकै सम्झिने नाम हो विवेक थपलिया । उनी युद्ध जितिसकेपछि विजय जुलुसमा सहभागी भएका माओवादी होइनन् बरु युद्धको नेतृत्व गरेर आएका कमान्डर हुन् । युद्धकालमा गाउँ वस्ती टोल टोलमा माओवादको प्रचारप्रसार गर्न होस् या युद्ध समाप्त भएपछि घाउहरुमा मलम लगाउन होस्, विवेक नै हाजिर हुन्थे र हुन्छन् । त्यसैले त त्यस क्षेत्रमा माओवादीको अर्काे नाम बनेको छ विवेक थपलिया ।

युद्धकालमा सेनाले वम प्रहार गरेर उडाईदिएपछि बाँकी रहेको भग्नावशेषसँगै जोडेर बनाईएको उनको झुपडीमा माओवादीका सुप्रिम कमान्डरहरुले वास बसेका छन् । चिनेका छन् । माओवादी सत्तामा पुगेपछि पटक पटक राज्यको कार्यकारी प्रमुख भईसकेकाहरुसँग विवेकको राम्रै चिनजान छ । तर ती सम्बन्धलाई व्यक्तिगत लाभ उठाउने अस्त्र कहिले पनि बनाएनन् । बरु आफ्ने गाउँ वस्तीमै रहेर निरन्तर लडिरहेछन् । जनताको हक अधिकारका लागि आफ्नै पार्टीको नेतृत्वमाथि दावा बोलिरहन्छन् विवेक । उनी भन्छन्–‘म यहाँबाट शहर गएर कसको सेवा गर्ने ? म यही बस्छु, म गाउँमा जन्मेको मान्छे हुँ, गाउँकै सेवा गर्छु ।

सत्तामा पुगेपछि माओवाद नै भुलेकोमा आफ्ना नेताहरुसँग गुनासो गर्छन् उनी, भन्छन्–‘सत्ता प्राप्तिको लागि संघर्ष गर्दैगर्दा जस्तो रुप थियो, सत्तामा पुगेपछि अर्कै भयो ।’ भ्रमित मुद्रामा उनले थपे–‘सत्तामा पुगेपछि कुन माओवादी हो, कुन कांग्रेस हो, कुन एमाले हो, छुट्टयाउनै मुस्किल भयो ।

माओवादी सत्तामा पुगेपछि पुँजीपतिहरुको फन्दामा परेको उनको बुझाई छ । विवेक भन्छन्–‘सर्वहारा वर्गको हक अधिकारका लागि संघर्ष गरेका थियौं, तर सत्तामा पुगेपछि नयाँ सामन्तवादको उदय पो हुन थाल्यो । यसलाई करेक्सन गर्न आवश्यक छ । हामी आन्तरिक लडाईँ गर्न तयार छौं ।

नेपालका कम्युनिष्टहरुले देशलाई उत्पादनसँग जोड्न नसकेकोमा उनको चिन्ता छ । उनले सडकको उदाहरण दिँदै भने–‘हाम्रो शहर पस्ने साइडको सडक भासिएको छ, बाहिर निस्कने साइडको सडक सम्म छ । यसले हामी आयात मात्र गर्छौँ, निर्यात गर्दैनौ भन्ने देखाउँछ । यति मात्रै होइन, हामी गरिव छौँ भन्ने देखाउँछ ।

जवसम्म उप्पादनमा जोड दिइदैन, स्थानीय स्रोत साधनको अधिकतम सदुपयोग गरी रोजगारीका सिर्जना गरिदैन तवसम्म देशको विकास नहुने विवेक बताउँछन् । नेपालका कम्युनिष्टहरु काममा भन्दा गफ लाउनमा ध्यान दिएको उनी बताउँछन्–‘कम्युनिष्टले युवाहरुलाई काम गर्न सिकाउनुपर्ने हो, बढी बोल्न मात्रै सिकाए कि भन्ने लाग्छ ।

प्राय राजनीतिकर्मीहरु आफ्ना कमीकमजोरी लुकाउन खोज्छन्, कूतर्क गर्छन । तर युद्ध मैदानदेखि नै माओवाद अंगालेका विवेक सत्य लुकाउँदैनन् । विचार र सिद्धान्तमा टेकेर वस्तुस्थितिको विश्लेषण गर्छन् । कमजोरी स्विकार्न सदा तप्पर रहन्छन् ।

आफुले माओवादलाई स्थापना गर्नका लागि युद्ध मैदानदेखि नै संघर्ष गरेकाले वास्तविक माओवादलाई आत्मानुसरण गरेको बताउने विवेक पार्टीमा अवसरवादीहरु हावी हुन थालेको विश्लेषण गर्छन् । विवेक भन्छन्–‘पार्टीमा माओवादलाई स्विकारेर आउने आगन्तुकहरुलाई हार्दिक स्वागत गर्छाैँ, तर पार्टीको स्थापना कालदेखि नै संघर्ष गर्दै आएकाहरुको त्याग बलिदानलाई पनि उचित कदर गर्न आवश्यक छ ।’

तर ढिलो चाँडो आफ्नो योगदानलाई जनताले मुल्याङ्कन गर्नेमा विश्वस्त छन् विवेक । आफुले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको लागि संघर्ष गरेको र गरिरहेकाले जनताले मुल्याङ्कन गर्न आवश्यक रहेको उनी बताउँछन् ।

विवेक थपलिया जस्ता संघर्षको मैदानबाट उदायका विवेकशील माओवादीहरु माओवाद खोजीरहेछन् । विवेकहरु ओझेलमा परे माओवाद नै ओझेलमा पर्ने विवेक बताउँछन् ।
साभार:बिकास टाईम्सबाट

प्रतिक्रिया