यसरी म शिक्षक बने

  सम्पादक |

बिजय खतिवडा
बूढो बाको चाउरी परेको छालाजस्तो खुम्चुङ्ग परेको सर्ट,उक्त सर्टको पकेटमा एक जोडी बेमेल रङ्गका डटपेनहरु, पोलिसको व्यग्र प्रतीक्षामा बसेका फुङ्ग रङ्ग उडेका एक जोडी जुत्ता, जीवनको रङ फुस्रो परिसकेको मलिन शरीर अनि त्यही शरीर घिसार्दै हिडिरहदा बाटोमा कसैले ‘नमस्ते सर’ भन्दा फुरुङ्ग भइदिने मुहार – त्यसताका म काठमाडौमा रहदाको प्रायः शिक्षकहरुको सार्वजनिक पहिचान। म सडकमा हिड्दा देखिने अनगिन्ती मुहारहरुमध्ये कुन मुहार शिक्षक मान्छेको हो भनेर चिनिहाल्थे- सोधिरहनुपर्ने आवश्यकता नै हुन्नथ्यो। यी त भए शिक्षक चिनिने बाहिरी कुरा जुन मेरो मानसपटलमा त्यो बेला कुदिएको थियो। कुनैपनि कुराहरु मानसपटलमा यसै कुदिन्नन- हाम्रो मस्तिष्कले देखेका हरेक कुराहरुलाई सश्लेषण/ विश्लेषण गरि त्यसप्रति एउटा दृष्टिकोण बनाउछ। मेरो मस्तिष्कले सायद त्यसबेला त्यस्तै दृश्यहरु देखेको थियो। मलाई पढाउने शिक्षकहरु मैले राम्ररी नियालेको थिए, मेरा कोहि आफन्त शिक्षक थिए, कोहि साथीहरू नै थिए जो शिक्षक थिए- उनीहरुलाई मेरो मस्तिष्कले राम्ररी नियालेको थियो। त्यसैले सायद शिक्षकहरुप्रतिको त्यो छाप मेरो मस्तिष्कमा गढेर कुदिएको थियो। मेरो त्यो दृष्टिकोणलाई मलजल गराउन लागिपर्ने अन्य केही तत्वहरु पनि थिए जो म अक्सर सुनिरहन्थे; हप्तामा एक दिन प्राप्त हुने शनिबारे बिदामा प्रायः शिक्षकहरु आफ्नो हप्ताभरीको तनाव बिसाउन कुनै सस्तो चौतारी जान्छन् , सोही चौतारीमा बसी सस्तोमै ग्लास भरिने मदिराले आफ्नो शिथिल शरीरलाई सिंचित गर्छन् । कम आर्थिक आयले गर्दा निम्तिने घरायसी तनाव, बिध्यालयमा प्रशासन/ विध्यार्थीहरु अनि अझै कहिलेकाही विध्यार्थीका अभिभावकहरुसङ्गको सम्बन्धको तनाव, घरपेटीले गर्ने भाडाको किचकिचको तनावहरु सबैलाई सोलोडोलो पारी उक्त चौतारीमा बिसाउछन। अझै कत्तिले मदिरासङ्गै हारेपनी थोरै पैसामात्र हारिने गरि तासलाई जोडेर मज्जा लिन्छन् । अनि तासको पत्ती र मदिराको चुस्कीसङ्गै गरिन्छन देशविदेशको अर्थ, राजनीति, भुगोल अनि इतिहासको गफ जो प्रायः यथार्थभन्दा बढी आदर्शकेन्द्रित हुन्छन् । यस्तो तस्वीर कुदिएको मेरो दिमागले शिक्षक शब्दमा रमाउने कुरै भएन, त्यसैले त्यसताका मलाई बाटामा कुनै शिक्षकहरु भेट्दा वा शिक्षक शब्द सुन्दामै पनि वितृष्णा हुन्थ्यो। 

मेरो बिएस्सीको पढाइ सकिएको थियो- रिजल्ट आउन बाकी थियो। काठमाडौको भाडाको बसाई,कलेजमा पनि त्यत्तिकै खर्च – काठमाडौको बसाई साच्चै खर्चिलो थियो। मेरो कुनै कमाइको स्रोत थिएन, सबै खर्च घरबाटै धान्नुपर्ने। फेरि हाम्रो परिवार त्यस्तो उच्च आर्थिक अवस्था भएको परिवार थिएन। केही पुर्ख्यौली अचल सम्पत्ति भएपनि चालू खर्चको लागि हामीलाई जहिल्यै हम्मेहम्मे पर्थ्यो। घरबाट पनि अब छोरोले आफ्नो खर्च आफैं जुटाउने व्यवस्था गर्छ भन्ने आशयको कुरो आइसकेको थियो। मलाई अब जे भएपनी कमाईको स्रोत आवश्यक थियो। तर किन हो कुन्नि मलाई त्यसैबेलामा पनि जागिरमा पटक्कै रुचि थिएन, म स्वरोजगार सिर्जना गर्न चाहन्थे तर त्यसको लागि पनि केही पैसा र उचित मेसो दुवै मिल्नुपर्थ्यो। म धेरै रन्थनिए। त्यसैबिच मैले धादिङमा सङ्गै स्कुल पढ्दाको साथी भेटे, उसले भर्खरै सामाखुसीमा स्कुल शुरू गरेको रहेछ। त्यसमा कक्षा आठ पास गरि केही वर्ष पढाइ छाडेकाहरुले एक वर्षे कोर्स गरि एस एल सी परीक्षा दिनसक्ने रहेछन् । भेट्नासाथ उसले सोध्यो, ” तिमी बिएस्सी है?” 

“नो, म बिजय”; मैले पनि ठट्टा गरे। अनि थपे, “बिंएस्सीको कोर्स सकियो, रिजल्ट कुरिराछु।” 

“ओ! गज्जब यार।”, उसले भन्यो, ” फुर्सद छ?” 

म फिस्स हासे। “मेरो त फुर्सद नै फुर्सद छ। बरु तिमिसङ्ग मेरो फुर्सदको केही औषधि छ?”, मैले जिस्काए। 

“गज्जबको औषधि छ नि यार।”, उ हास्दै बोल्यो; “मेरो स्कुलमा बिज्ञान शिक्षकको खाचो छ, अहिले आउ- पढाउ, पछि स्कुल नै मिलेर चलाऔंला।” उसले उसको गज्जबको प्रस्ताव राख्यो। म उसको त्यो प्रस्तावले झण्डै मुर्छा परेको, म जोडले हासे- उ जिल्ल पर्यो। सायद वरिपरिका अरु पनि जिल्ल परे। अनि मैले सम्हालिदै भने; “नो यार, म पढाउदिन। तिम्रो प्रस्तावको लागि धन्यवाद।” उ केही खिन्न जस्तो देखियो अनि मलिन आवाजमा सोध्यो,”किन?”  त्यो ‘किन’को जवाफ म कसरी दिउँ उसलाई? के उसले मैले दिएको जवाफको मर्म बुझ्ला र? के उसले मेरो मनमा रहेको शिक्षकप्रतिको दृष्टिकोणलाई बुझ्ला र? अनि मैले उसलाई उसले बुझ्नेगरी सहज तरिकाले जवाफ दिए; “मलाई शिक्षणमा रुचि छैन यार, रुचि नै नभएको पेशामा किन अल्झिनु?”, मैले अझै थपे,”कुनै बेला रुचि जागेमा तिम्लाई अवश्य सम्झनेछु। बरु त्यो बाहेक अरु कुनै काम छ भने बुझ है?” 

“ओके” भनेर मुन्टो हल्लाउदै सुस्त गतीमा उ छुट्टियो। उ छुट्टिएपछि पनि मलाई बिछट्टै हासो लाग्यो, तर यो पटक चाई म मनमनै हासे- आवाज बाहिर निकालिन। केही दिन यसै बिते, न त मैले कुनै आयस्रोतको बाटो पाए न त स्वरोजगारीको सुरुवात गर्न नै सके। बरु ठमेलमा खाजा खाएर फर्कदै गर्दा सामाखुसीमा पुनः उहीँ साथीसङ्ग भेट भयो बाटोमा। भेट्नासाथ उसले भन्यो,”विमर्श , तिमी पढाउन आउ यार मेरोमा।” उसले आफ्नो प्रस्तावलाई अझै प्रष्ट्यायो;”केही दिन पढाउ, रुचि लागे कन्टिन्यु गर- नभए छोडिदेउ। बरु त्यतिन्जेलमा म अर्को शिक्षक नि खोज्दै गर्छु। तिमिले पढायौ भने पैसा नि राम्रै आउँछ पेरिएड बेसिसमा। अनि मेरो समस्या नि हल हुन्छ यार, आउ भोलिदेखी।”  म एकछिन अलमल परे, केही आवाज नै आएन- अनि फेरि उसले भनेको एउटा कुरा मेरो दिमागमा घुम्यो,”पैसा नि राम्रै आउँछ”। त्यो चार शब्दको छोटो वाक्यले मेरो मस्तिष्कलाई केही मात्रामा हलचल नै गराईदियो- हो मलाई केही पैसाको बिलकुल खाचो छ अचेल। फेरि उसले कुरा पनि त ठिकै गर्यो नि,”रुचि भए कन्टिन्यु गर, नभए छोडिदेउ”। मेरो मस्तिष्क उसको प्रस्तावले प्रसन्न त भएन तर केही कन्भिन्स चाहिँ अवश्य भयो। अनि मैले भने,”हुन्छ यार, म भोलि आउछु। बरु कति बजे?” 

“बिहान सात बजे”, उसले हास्दै भन्यो। 

जीवनमा पहिलोपटक आफुलाई अरुची लागेको कार्य सुरु गर्नको लागि तयार भए म, साढे छ बजे नै कोठाबाट निस्किए। बाटोमा हिड्दै गर्दा हरेक पाईलाहरुमा मैले खुजमुजिएको सर्ट देखे, सर्टको पकेटमा रातो र कालो एकजोडी डटपेन देखे, फुङ्ग रङ्ग उडेको एकजोडी जुत्ता आफ्नै खुट्टामा छिरेजस्तो भान भयो। ती दृश्य यसरी आए मानौँ कुनै चिसो बतास एकापटीबाट आउदै मलाई स्पर्श गर्दै निरन्तर बहदै छ। म कतिखेर स्कुल पुगेछु पत्तै भएन, घडी हेरे- ६:५० भएको रहेछ। उसले कक्षा दशको बिज्ञान पुस्तक मतिर तेर्साउदै मुसुक्क हासेर भन्यो;”दस मिनेट बाकी छ, यो किताब हेरेर केही तयारी गर। पहिलो क्लास हो, अफ्ठेरो लाग्नसक्छ- नडराई पढाउनु। कक्षामा जाने बेलामा एक ग्लास पानी पिएर जाउ”, भन्दै उसले पानीको जार देखायो। अनि फेरि थप्यो,”क्लास सकिएसी कुरा गरम्ला।”

म त अलमलमा परे, के गरुँ गरुँ जस्तो भयो। केही डरजस्तो भावले छाती थिच्यो, पुस्तक पल्टाए- पहिलो पाठ थियो गुरुत्वाकर्षण बलको बारे। केहिबेरमा अलिअली डर, अलिअली अफ्ठेरोपन, अलिअली कौतुहलता अनि अलिअली आत्मविश्वासको मिश्रित भाव लिएर कक्षाकोठामा छिरे। मलाई देखेर उभिएका ती बिध्यार्थीहरुलाई मैले ‘बस’ भन्नै भुलेछु- उनीहरु उभिइरहे। मैले उनीहरुलाई एकफेर सरसर्ती नियाले। कक्षाकोठा विविध जातका फुलहरु एकै ठाउमा फुल्ने फुलबारी हो भन्ने कुरा मैले पहिलोपटक महसुस गरे। विध्यार्थीहरु विविध थरिका थिए, कोहि त मभन्दा नि ठुला- उचाईमा पनि, उमेरमा पनि सायद। मैले एकछिन उनीहरुसङ्ग सामान्य कुराकानी गरे, कक्षा आठ पास गरि विविध कारणबस लामो समय पढाइ छाडेर अहिले फेरि पढाईलाई निरन्तरता दिने उनीहरुको चाहनाको सम्मानस्वरुप समग्रमा शुभकामना दिए र मैले गुरुत्वाकर्षण पाठ सुरु गरे। मैले कक्षामा प्रस्तुत गरेको सबै क्रियाकलापहरु मलाई याद छैन तर मलाई के चाई याद छ भने मैले उक्त क्लासमा पुस्तक पल्टाएर पढाईन। मैले गुरुत्वाकर्षण र गुरुत्वबल हाम्रो जीवनसङ्ग कसरी जोडिएको छ भन्ने कुरा सेयर गरे, त्यसका केही उदाहरणहरु प्रस्तुत गरे अनि अन्त्यमा सर आईज्याक न्युटनलाई जोडे, जसले गुरुत्वाकर्षणलाई लिपिबद्द गरि नियममा बाधेका थिए। मेरो लागि मेरो पहिलो क्लास पहिलोचोटी गरेको अन्य सामान्य कार्यजस्तै रह्यो- न धेरै रस न त खासै बेरस नै। पहिलोपल्ट तानेको शिखर चुरोटको सर्कोजस्तै, पहिलोपटक पिएको टुवोर्ग बियरको घुट्कोजस्तै- न त स्वादिष्ट न त बेस्वादको नै। क्लास सकिएपछि मलाई अफिसमा राखी उ क्लासमा गयो र केहिबेरमा पुनः अफिसमा आयो अनि खुसी हुँदै भन्यो; “गज्जब यार, दे आर ह्याप्पी विथ यु- दे लाइक्ड योर टिचिङ।” अनि अझै थप्यो; “बधाई छ विजय सर”। 

आफ्नो नामको पछाडि ‘सर’ थपिएको पहिलो आवाज सुन्दा मलाई कस्तोकस्तो लाग्यो, मनमा खुसीको भाव छायो या बेखुसी आयो थाहै भएन। अनि म खिसिक्क हासे मात्र। तर मलाई खुसी यो कुरामा चाई लाग्यो कि मेरो प्रस्तुति विध्यार्थीहरुलाई रमाइलो लागेछ। आफ्नो कार्यले आफू खुसी हुने त धेरैचोटि भएको थियो तर आफ्नो कारणले अरु कोहि खुसी हुँदा त्यो खुसीको भाव आफुभित्र नि सर्दोरहेछ, त्यो मैले महसुस गरे। कोठामा फर्कदै गर्दा म आफैं पनि केही हलुका भएजस्तो फिल भयो, गुरुत्वाकर्षणको बारे मैले पहिलेभन्दा आज अलि बढी बुझेको बोध भयो। आफुले पढेर प्राप्त ज्ञानको गहिराईभन्दा अरुसङ्ग प्रस्तुत गरेर खारिएर आएको ज्ञानको गहिराई बढी हुँदै रहेछ सायद। करिब तीन/चार दिनको क्लासपश्चात मलाई अजिब खालको भाव आउन थाल्यो। आफुले सिकेका कुराहरु,जानेका कुराहरु, बोध भएका कुराहरु अनि अनुभूति गरेका कुराहरु अरुसङ्ग मज्जाले सेयर गर्नसक्नु गज्जबको कुरो रहेछ। वास्तवमा शिक्षण भनेको नै यही रहेछ। मैले कति जानेको छु या बुझेको छु- त्यसले खासै अर्थ राख्दोरहेनछ शिक्षणमा तर मैले आफुमा भएका कुराहरु अरुसामु कसरी एक्सप्रेस गर्छु- अरुले त्यसलाई कुन तहसम्म ग्रहण गर्न सक्छन् , त्यो नै शिक्षण हो। मेरो मस्तिष्क अहिले पनि शिक्षण पेशाप्रती विकर्षित नै थियो तर मनचाई बिस्तारै आनन्दित हुँदै थियो। विध्यार्थीहरु दिनप्रतिदिन खुसी देखिन्थे, बिस्तारै कक्षा पनि थपियो- थपिएका कक्षाका विध्यार्थीहरु पनि खुसी देखिन्थे। उनीहरु मस्तसङ्ग रम्थे कक्षामा, म पनि मस्त रम्थे। बेलाबेलामा गज्जबको छलफल पनि चल्थ्यो, कक्षा दशका विध्यार्थी भए पनि प्रायजसो उनीहरु बीस वर्षभन्दा माथिकै थिए- कुनै न कुनै व्यापार व्यवसायमा लागिसकेका मानिसहरु थिए। विध्यार्थीहरुमा उत्पन्न भएको त्यो खुसी अनि आनन्दको भाव ममा यसरी सर्दै गयो मानौँ मेरो मनलाई शिक्षणको नशा लाग्दैथियो। मस्तिष्कको चतुर्याइँ अनि सोचलाई मनको आनन्दित भावले जित्दै गयो। त्यसको केही समयपछि हामी केही साथीहरु मिली स्वरोजगार सिर्जना गर्ने एउटा क्षेत्र रोज्यौ अनि नयाँबजारमा एउटा निजी विध्यालय शुरु गर्यौ। 

  अनि म शिक्षक भए। 

र अहिले करिब १३ वर्षदेखी म शिक्षक छु निरन्तर र पनि कुनै त्यस्तो एउटा पिरियड छैन जसमा मैले आफुलाई पुरानो पाएको हु। म हरेक कक्षामा नयाँ हुन्छु, हरेक पिरियडमा नयाँ हुन्छु। हरेक वर्तमानहरु विगत बन्दै जान्छन् अनि फेरि नयाँ वर्तमानहरु खुल्दै जान्छन् अनि फेरि म नयाँ वर्तमानसङ्गै नयाँ हुँदै जान्छु। मैले शिक्षकको रुपमा हरेक कक्षाहरुमा इन्ज्यो गरेको छु- आनन्दित भएको छु। मेरो शिक्षण कार्यप्रती, मेरो पेशाप्रती मलाई अगाध प्रेम छ अनि यसै शिक्षण पेशाले गर्दा नै शारीरिक उमेरको निरन्तर वृद्धिका बाबजुद पनि मेरो मानसिक उमेर कम छ। अथवा भनौं ममा विविध उमेरको कला छ, म छिनमै दस वर्षे बालक भैदिन सक्छु- छिनमै सत्र वर्षे यौवना भैदिन सक्छु- छिनमै चैबिस वर्षे जिज्ञासु या छिनमै चालीस वर्षे परिपक्कता अनि छिनमै साठी वर्षे अनुभवी भैदिन सक्छु। हो साच्चै, मलाई मेरो शिक्षण कार्यमा गहिरो प्रेम छ- शिक्षण मेरो जीवनको आत्मीय साथी बनेको छ।

प्रतिक्रिया