भुवन भण्डारी/जापान
नेपाल र जापानको सम्बन्ध केवल कूटनीतिक दस्तावेजमा सीमित छैन; यो दुई देशका जनताको भावना, सहयोग, विश्वास र आपसी समझदारीमा आधारित सम्बन्ध हो। दशकौँदेखि जापानले नेपालको विकास र समृद्धिका अभियान र विभिन्न क्षेत्रमा भरपूर सहयोग गर्दै आएको छ भने, पछिल्ला वर्षहरूमा हजारौँ नेपाली युवा अध्ययन र रोजगारीको सिलसिलामा जापान आईरहेक छन्। विशेषगरी पछिल्लो समय अध्ययनको लागि आउनेको संख्या उल्लेखनीय छ।यी युवाहरू अब नेपाल–जापान सम्बन्धको आधुनिक सेतु बन्न थालेका छन्, जसले केवल उनीहरूको व्यक्तिगत भविष्य मात्र हैन, सम्पूर्ण राष्ट्रको समृद्ध भविष्य पनि कोर्न सक्ने सम्भावना बोकेको छ।
ऐतिहासिक पृष्ठभूमिमा दृढ सम्बन्ध:
नेपाल र जापानबीच औपचारिक कूटनीतिक सम्बन्ध सन् १९५६ मा स्थापन भएको हो। त्यसयता जापानले नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन, कृषिको आधुनिकीकरण, विपद् व्यवस्थापन लगायतका क्षेत्रहरूमा उल्लेखनीय सहयोग पुर्याउँदै आएको छ। जापान सरकारले प्रदान गर्ने ODA (Official Development Assistance) अन्तर्गत नेपालमा थुप्रै परियोजनाहरू कार्यान्वयन भएका छन्, जसमध्ये मेलम्ची खानेपानी, त्रिभुवन विश्वविद्यालयको भौतिक पूर्वाधार, नेपाल जापान मैत्री अस्पताल जस्ता परियोजनाहरू उदाहरणीय छन्। यसरी हेर्दा, जापानले नेपालको संरचनागत विकासमा दृढ हातेमालो गर्दै आएको स्पष्ट हुन्छ।
नेपालले जापानमा आफ्नो कूटनीतिक उपस्थितिलाई सशक्त बनाउन सन् १९६५ मा टोकियोमा स्थायी दूतावास स्थापना गर्यो। यसअघि दुई देशबीच औपचारिक कूटनीतिक सम्बन्ध सन् १९५६ मा स्थापन भइसकेको थियो। जापानले काठमाडौंमा सन् १९६० मै दूतावास स्थापना गरिसकेको थियो, तर नेपालले जापानमा स्थायी दूतावास स्थापना गर्न केही वर्ष समय लिएको हो। टोकियोस्थित नेपाली दूतावासले नेपाली समुदायका सेवा, द्विपक्षीय सम्बन्धको प्रवर्द्धन तथा व्यापार, लगानी र पर्यटनजस्ता क्षेत्रमा सहकार्य विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। आजको दिनमा यो दूतावास जापानमा रहेका नेपालीहरूको अधिकार संरक्षण, कन्सुलर सेवा र सांस्कृतिक कूटनीतिकताका लागि मुख्य केन्द्रका रूपमा क्रियाशील छ।
जापानतर्फ उन्मुख नेपाली युवा:
पछिल्लो दशकमा जापान नेपाली युवाहरूको लागि प्रमुख गन्तव्य बनेको छ, विशेषतः अध्ययनको हिसाबले। भाषा अध्ययनपछि प्राविधिक शिक्षा, स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्न जापान जानेहरूको संख्या दिनानुदिन बढिरहेको छ। उच्चस्तरीय शिक्षा, अनुशासित सामाजिक संरचना, सुरक्षित जीवनशैली र आंशिक कामको सुविधा नेपाली युवाहरूलाई जापानतर्फ तान्ने मुख्य कारण बनेका छन्।
मे १, २०२४ सम्म जापानमा ६४,८१६ भन्दा बढि नेपाली विद्यार्थी अध्ययनरत छन्।२०२३–२४ वर्षमा ३४,७३१ जना नयाँ विद्यार्थी जापानका लागि अध्ययन अनुमति लिएका थिए।
डिसेम्बर २०२४ सम्मको रेकर्ड अनुसार जापानमा २३३,०४३ नेपाली छन्।त्यस यता पनि उल्लेखनीय रूपमा नेपालीहरु विभित्र भिसामा जापान भित्रीएका छन्।यो वृद्धिमा भाषा अध्ययन, उच्च शिक्षा, व्यक्तिगत रोजगारी र प्रविधि सम्बन्धी आकर्षक अवसरहरू मुख्य भूमिका खेलेका छन्।नेपाली समुदाय अहिले जापानमा शक्ति, एकता र सामाजिक प्राभावको प्रतिमूर्त नै बनेको छ।युवाहरूको यो व्यापक उपस्थितिले केवल रेमिट्यान्समूलक अर्थतन्त्रमा योगदान गर्ने मात्र हैन, दुई देशबीचको सांस्कृतिक र सामाजिक सम्बन्धलाई समेत बलियो बनाएको छ। नेपालमा जापानी भाषा र संस्कृतिप्रति बढ्दो रुचि त्यसको स्पष्ट प्रमाण हो,भन्ने कुरालाई नकार्न सकिदैन।
अवसरका साथ चुनौतीहरू:
जापान पुगेका नेपाली युवा केवल सजिलैसँग अघि बढिरहेका छैनन्। भाषा अवरोध, सांस्कृतिक भिन्नता, कठोर श्रम, शिक्षा र कामबीच सन्तुलन राख्नुपर्ने चुनौती, एक्लोपन, मानसिक तनाव जस्ता समस्याहरू उनीहरूको दैनिकीका हिस्साहरु बनेका छन्। तर यिनै चुनौतीहरूमाथि विजय प्राप्त गर्ने युवाहरूले जापानमा व्यवसाय, अध्ययन तथा सामाजिक नेतृत्वमा उल्लेखनीय सफलता पनि हासिल गरेका छन्।
जापानमा रहेका नेपालीहरूले विभिन्न क्षेत्रहरूमा उल्लेखनीय सफलता हासिल गरेका छन्। शुरुमा भाषा, संस्कार र जीवनशैली फरक भएकोले केही कठिनाइ भए पनि समयसँगै नेपालीहरू जापानी समाजमा घुलमिल हुँदै गए र आज उनीहरू व्यवसाय, शिक्षा, स्वास्थ्य, प्रविधि, सामाजिक सेवा र सांस्कृतिक चेतनाजस्ता विविध क्षेत्रहरूमा प्रभावशाली रूपमा स्थापित छन्। व्यवसायिक क्षेत्रमा नेपालीहरूले रेस्टुरेन्ट, ग्रोसरि स्टोर, IT कम्पनी, र सेवामूलक व्यवसायहरू सञ्चालन गरेर जापानी बजारमा आफ्नो पहिचान बनाएका छन्। कतिपय नेपालीले जापानमै नयाँ व्यवसाय सुरु गरेर जापानी नागरिकलाई रोजगार समेत दिइरहेका छन्।
शिक्षाको क्षेत्रमा पनि नेपाली विद्यार्थीहरूले उत्कृष्ट नतिजा दिँदै जापानका प्रतिष्ठित विश्वविद्यालयहरूमा स्नातक, स्नातकोत्तर र अनुसन्धान स्तरमा अग्रणी स्थान हासिल गरेका छन्। रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, स्मार्ट एग्रिकल्चर र स्वास्थ्य अनुसन्धानमा नेपाली युवा वैज्ञानिकहरूले उल्लेखनीय काम गरेका छन्। यस्तै, स्वास्थ्य क्षेत्रमा नेपाली नर्स, केयरगिभर र स्वास्थ्यकर्मीहरूले जापानका वृद्धवृद्धाको सेवामा समर्पित भई जापानी समाजमा विश्वास जितेका छन्।
सूचना प्रविधिको क्षेत्रमा पनि नेपाली युवाहरूले जापानमा IT सेवा प्रदायकका रूपमा आफ्नो प्रभाव बढाइरहेका छन्। कतिपय नेपालीले जापानमै सफ्टवेयर कम्पनी खोल्न सफल भएका छन्, जसले नेपाल र जापानबीचको डिजिटल सम्बन्धलाई थप सुदृढ बनाइरहेको छ।
सामाजिक क्षेत्रमा, आपतकालीन राहत, रक्तदान, स्वास्थ्य शिविर, र नेपाली विद्यार्थीहरूको हकहितका पक्षमा आवाज उठाउने कार्यहरूमा नेपाली संघसंस्थाहरू सक्रिय छन्। एनआरएन जापान, नेपाली विद्यार्थी समाज र अन्य सामाजिक समूहहरूले जापानभित्र नेपाली समुदायको एकता र सामाजिक सेवा सुदृढ गरिरहेका छन्।
यस्तै, सांस्कृतिक क्षेत्रमा पनि नेपालीहरूले जापानमा नेपाल महाेत्सव,नेपाल फेस्टिबल, नेपाली चाडपर्व, नृत्य, साहित्यिक गोष्ठी गरेर आफ्नो मौलिकता जोगाइरहेका छन्। दशैं, तिहार, ल्होसारजस्ता पर्वहरू भव्य रूपमा मनाइन्छन्, जसमा जापानी नागरिकहरूको समेत उपस्थिति रहने गर्छ।
यसरी हेर्दा, जापानमा रहेका नेपालीहरूले आफ्नो मेहनत, क्षमता र प्रतिबद्धताबाट केवल व्यक्तिगत सफलता मात्र नभई नेपाल र नेपाली समाजको गौरवसमेत बढाइरहेका छन्। यिनीहरू जापानमा बसेर नेपाली समाजको सकारात्मक छवि निर्माण गर्ने सांस्कृतिक दूतका रूपमा स्थापित भइसकेका छन्।
ज्ञान, सीप र प्रविधिको हस्तान्तरण:
नेपालका लागि अबको आवश्यकता केवल रेमिट्यान्सको परनिर्भरता हटाएर, विदेशमा गएका युवाहरूको ज्ञान, सीप र प्रविधिको अधिकतम प्रयोगमा केन्द्रित हुनुपर्छ। जापानजस्तो प्राविधिक रुपमा अगाडि रहेको देशमा शिक्षित र सीपयुक्त भएर फर्किएका नेपाली युवाहरूले कृषि, सूचना प्रविधि, पर्यटन, साना उद्योग, शिक्षाजस्ता क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्छन्।
विशेषगरी जापानको Robotics, Artificial Intelligence (AI), Smart Agriculture, Elder Care System लगायतका क्षेत्रका अनुभव नेपालमा उपयोग भएमा समाजलाई आधुनिकीकरणको दिशामा डोहोर्याउन सकिन्छ। यसका लागि सरकारले फर्किएका युवाहरूलाई स्टार्टअप अनुदान, कर छुट, प्राविधिक पूर्वाधार जस्ता सहजता उपलब्ध गराउनुपर्छ।
जापानमा नेपालीहरूले नेपाली भाषालाई जोगाउने उद्देश्यले नेपाली विद्यालयहरूको स्थापना गर्नु अर्को उल्लेखनीय उपलब्धि हो। टोकियो र अन्य ठुला शहरहरूमा नेपाली समुदायद्वारा सञ्चालित विद्यालयहरूमा नेपाली बालबालिकालाई मातृभाषा, संस्कृति, इतिहास, र नेपाली चाडपर्वको शिक्षाद्वारा आफ्नो जरा भुल्न नदिने प्रयास गरिँदैछ। यी विद्यालयहरूले आप्रवासी नेपाली बालबालिकाको पहिचान जोगाउन र उनीहरूको सामाजिक तथा भावनात्मक विकासमा सहयोग पुर्याइरहेका छन्।
नीतिगत तयारी र संस्थागत समर्थन:
नेपाली सरकार र सम्बन्धित निकायहरू (परराष्ट्र मन्त्रालय, शिक्षा मन्त्रालय, श्रम मन्त्रालय) को भूमिकालाई अझ स्पष्ट र कार्यान्वयनमुखी बनाउनुपर्छ। जापानमा रहेका नेपाली विद्यार्थी समाज र समुहहरू, NRNA (Non-Resident Nepali Association) तथा नेपाली दूतावासले युवाहरूको हकहितको सुरक्षा, सीप विकास, अवसरको पहिचान र मनोबल वृद्धि गर्न योजनाबद्ध कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ। जापानमै बसेर सामाजिक तथा आर्थिक रुपान्तरणका लागि भूमिका खेलिरहेका युवाहरूलाई सम्मान र समावेश गर्ने नीति अवलम्बन गरिनुपर्छ।
नेपाल–जापान सम्बन्ध अहिले एक नयाँ मोडमा पुगेको छ, जहाँ पुराना कूटनीतिक सम्बन्धसँगै अब जन–स्तरको सम्बन्ध प्रगाढ बन्दै गएको छ। नेपाली युवाहरू यो सम्बन्धको केन्द्रमा उभिएका छन्। उनीहरूको शिक्षा, संघर्ष, सीप, र लगनशीलता अब नेपाललाई मात्र हैन, जापानलाई पनि लाभदायक बन्ने दिशातर्फ उन्मुख छ।
यदि देश, समाज, र युवा स्वयंले मिलेर योजनाबद्ध ढंगमा अघि बढे, भने नेपाली युवाहरू जापानमा मात्र होइन, सम्पूर्ण विश्वमा ‘सक्षम, सभ्य र सिर्जनशील नेपाली’ को पहिचान स्थापित गर्न सक्नेछन्। यो पहिचान हाम्रो साझा सपना र राष्ट्रिय गौरव बन्नेछ।
प्रतिक्रिया