पञ्चकन्या मा.वि. स्यादुलको SEE मा ऐतिहासिक फड्को : निलबाट शिखरसम्मको यात्रा

  तपाईंको न्यूज |

१७ असार २०८२, मंगलवार ०३:४८

२०८० सालमा, जब देशभरका विद्यार्थीहरू एसईई नतिजाको प्रतीक्षामा थिए, स्यादुल गाउँपालिकास्थित पञ्चकन्या मा.वि.को पर्खाइ ताजै थियो तर परिणाम भने हृदयविदारक।उत्तीर्ण संख्या शून्य। त्यो शून्यले केवल अंक होइन, एक गाउँको सपना चकनाचुर गर्‍यो। शिक्षक, अभिभावक र सम्पूर्ण समुदायलाई त्यो दिनले कठोर यथार्थको ऐना देखायो।

तर त्यो हार अन्त्य भएन—त्यही हारबाट पुनः आरम्भ भयो।स्थानीय तह र शिक्षा शाखा लाग्यो। गाउँलेहरूले आँखा चिम्लेनन्, शिक्षकहरू चुप लागेनन्, विद्यार्थीहरू निराश भएर टाढा भएनन्। बरु, सबै मिलेर एउटा संकल्प गरे—अब परिवर्तन गरिन्छ। शिक्षकले विद्यालयलाई आफ्नै परिवारजस्तै माया गरे, समुदायले त्यसलाई आफ्नो भविष्य ठाने, र विद्यार्थीहरूले मेहनतलाई आफ्नो धर्म माने।

र, २०८१ सालमा त्यस मेहनतको फल फल्यो—त्यो विद्यालय जसले अघिल्लो वर्ष नतिजामा शून्य ल्यायो, यसपालि गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमध्ये पहिलो भयो!
१४ जनाले एसईई दिए, तीमध्ये १३ जना उत्तीर्ण भए। ९२.८६ प्रतिशत सफलता दरसहित पालिका प्रथम।

यो नतिजा केवल शैक्षिक उन्नति होइन, एउटा गाउँको आत्मबलको पुनर्जन्म हो। यो हरेक अभिभावकको खुसी, हरेक शिक्षकको समर्पण, र हरेक बालबालिकाको सपना हो।

पञ्चकन्या मा.वि. स्यादुलको यो सफलता देशभरका सामुदायिक विद्यालयहरूका लागि एउटा उज्यालो सन्देश हो।
जहाँ चाह, त्यहाँ उपाय हुन्छ। हार्नु पाप होइन, हारबाट नउठ्नु मात्रै हार हो।

गाउँको उकालीमा बसेको त्यो विद्यालयले अब मुलुकभरलाई झस्काउने सफलता देखाएको छ।झरेको फूल फेरि फुल्न सक्छ, अँध्यारो रातपछि उज्यालो बिहानी पक्कै आउँछ।

प्रतिक्रिया