शंकर पाेखरेल
समाज परिर्वतन उत्पादक सम्वन्ध र उत्पादक शक्तिसंग जोडिएको विषय हो । राजनीतिक परिर्वतनले स्थापित गरेको नयाँ उत्पादन सम्वन्धलाई सुदृढ गर्न सकिएन भने प्रतिक्रान्तिको जोखिम सदैव रहन्छ । उत्पादक शक्तिको तिव्रविकास भएन भने नयाँ उत्पादन सम्वन्धको निर्माण गर्न सकिदैन । क्रान्ति र समाज परिवर्तनको यो नियम अनुसार राजनीतिक अघि वढ्न नसक्दा नै समाजमा अस्थिरता, द्वन्द्व र निरासा उत्पन्न हुने गर्दछ ।
आज हाम्रो समाज सामाजिक अराजकताको चरम विन्दुतर्फ उन्मुख छ । आमरुपमा राज्य,संगठित शक्तिहरु र अख्तियारप्राप्त व्यक्तिहरु प्रतिको अविश्वास,निरासा र घृणा त्यसकै उपज हो । सामाजिक अराजकताको जगमा नीतिहिन उद्देश्य हिन र गन्तव्यहिन पपुलिष्टहरु राजनीतिक विकल्पका रुपमा प्रस्तुतहुने र समाजले त्यसलाई आशाको नजरले हेर्ने अवस्था आजको राजनीतिक नयाँ परिदृष्य हो । पपुलिष्टहरुवाट समाजको रुपान्तरण र आर्थिक तथा राजनीतिक संकटको समाधान हुन सक्तैन । उनीहरुवाट हुने भनेको अन्ततः यथास्थितिवादको पोषण नै हो । दुनियाका पपुलिष्ट आन्दोलनहरुको अवसान त्यसरी नै हुने गरेको छ ।
आजको हाम्रो समाजका प्रमुख तीन समस्याका रुपमा राजनीतिक अस्थिरता र अराजकता, साँस्कृतिक मुल्यको विघटन र वैधानिक अर्थतन्त्रलाई कमजोर बनाएर त्यसवाट लाभलिने स्वार्थीतत्वहरुको राज्यसत्तामा पहूच र प्रभुत्व कायम हुनुले उत्पन्न चरम आर्थिक संकट नै हो । सोही कारणले आज मुलुकमा मौद्रिक तरलतामा संकट उत्पन्न भएको छ । वैध व्यापार व्यावसायमा गिरावट आएको छ । राजश्वमा गिरावट आएको छ । आर्थिक रुपमा मुलुक मन्दीको अवस्थातर्फ उन्मुख छ । यस्तो अवस्थामा राज्यको ध्यान जुनरुपमा संकट समाधानमा केन्द्रीत हुनुपर्ने हो त्यो हुन सकिरहेको छैन ।
आर्थिक समाजिक व्यवस्थामा संकट उत्पन्न भएका वेलामा राजनीति त्यसवाट अछुतो हुन सक्तैन । राजनीतिलाई सही दिशा र गन्तव्यतर्फ डोर्याउने हो भने मुलुकका सामु उत्पन्न प्रमुख समस्याको निदानमा ध्यान केन्द्रीत गर्नु पर्दछ । अहिलेको जस्तो सत्ताकेन्द्रीत राजनीतिवाट न त्यसको समाधान सम्भव छ, नत आवेग, उत्तेजना र आक्रोसवाट नै । गम्भीर भएर समस्या समाधानमा केन्द्रीत हुनुपर्ने वेलामा हाम्रो समाजमा पुराना र नयाँको भाष्य खडा गरेर समस्या केन्द्रीत छलफल र बहसवाट भाग्ने कोशिस भइरहेको छ ।
ठिक यहीवेलामा राजनीतिक अस्थिरता र आर्थिक-सामाजिक संकटको बीचवाट आफ्नो स्वार्थको रोटी सेक्न वाह्यशक्तिहरु निकै सल्वलाई रहेका छन् । उनीहरु नेपाललाई आफ्नो सामरिक रणनीतिका लागि उपयोग गर्ने उद्देश्यमा केन्द्रीत देखिदैछन् । यस्तो अवस्थामा नेपाली समाजको अन्तरद्वन्द्वका कारणले नेपाल भूराजनीतिक द्वन्द्वको चपेटामा नपरोस् भन्नेकुरामा हामी सबै विना कुनै पूर्वाग्रह जिम्मेवार र गम्भीर हुनु आवश्यक छ ।
त्यसैले आजको संकटको समाधानका लागि समाजका सबैपक्ष जिम्मेवार भएर समस्या केन्द्रीत सामाजिक बहस र समाधान केन्द्रीत राजनीतिक अभियानमा जुट्नुपर्ने भएको छ।
-नेकपा एमाले महासचिव शंकर पाेखरेल
प्रतिक्रिया