पूर्व मन्त्री एवं एमाले नेता प्रदिप नेपालको निधन

  तपाईंको न्यूज |

२३ बैशाख २०८२, मंगलवार ११:१५

पूर्वमन्त्री तथा नेकपा एमालेका संस्थापक नेता प्रदिप नेपालको निधन भएको छ । लामो समयदेखि पार्किन्सन्स रोगले पीडित एमाले नेता एवं लेखक, साहित्यकार प्रदीप नेपालको ७२ वर्षको उमेरमा निधन भएको हो ।स्वास्थ्यमा जटिल समस्या आएपछि नेता नेपाललाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो ।

विसं. २०१० पुस २८ गते भोजपुरको गोगने गाउँमा जन्मिएका नेपाल कम्युनिष्ट घटक कोअर्डिनेशन केन्द्र हुँदै नेकपा (माले) स्थापनाका एक महत्त्वपूर्ण नेताका रुपमा परिचित छन् । २०२६ सालमा सगरमाथा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भएर उनले राजनीतिक जीवन प्रारम्भ गरेका थिए।उनी चर्चित नख्खु जेल ब्रेक काण्डका एक पात्र हुन् ।

उनी माक्र्सवादी अध्ययन केन्द्रका संस्थापक सदस्य हुन् । एमाले मुखपत्र ‘नवयुग’ को संस्थापक प्रधान सम्पादक रहेका उनले दृष्टि साप्ताहिकको सम्पादकको जिम्मेवारी पनि बहन गरे ।२०५१ सालमा गठित मनमोहन अधिकारी नेतृत्वको सरकारमा उनले सूचना तथा सञ्चार राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि जलस्रोत र शिक्षा मन्त्रीका रुपमा पनि काम गरेका थिए।

प्रतिक्रिया