टोकियोमा हुण्डी गर्ने गिरोहका ६ जना पक्राउ करिब ४ करोड २० लाख येन ठगी गरेर क्रिप्टोमार्फत विदेश पठाएको आरोप

  तपाईंको न्यूज |

५ असार २०८२, बिहीबार ११:०९

टोकियो, जापान
टोकियो प्रहरीले सामाजिक सञ्जालमार्फत ठगी गरेर कमाइएको ठूलो रकम लुकाएको आरोपमा ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूले जापानभरिका व्यक्तिहरूलाई अनलाइनमार्फत ठगी गरी जम्मा गरिएको करिब ४ करोड २० लाख येन (२ लाख ९० हजार अमेरिकी डलर) बराबरको रकम विभिन्न खातामा सारेर त्यसको स्रोत लुकाउने काम गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, उक्त रकम गत वर्ष ठगीमा परेका आठ जना पीडितसँग संकलन गरिएको थियो। पक्राउ परेका व्यक्तिहरूले ठगी समूहलाई पैसा शुद्धीकरण गर्न (मनी लन्डरिङ) मद्दत गरेको र त्यसपछि अवैध रूपमा संकलित रकमलाई क्रिप्टोकरेन्सीमा रूपान्तरण गरी विदेशमा पठाएको आरोप लागेको छ।

प्रहरी अनुसन्धान अनुसार, उक्त गिरोहले सोशल मिडिया र म्यासेजिङ एपमार्फत मानिसहरूलाई विभिन्न बहानामा फसाउँदै रकम ट्रान्सफर गराउने गर्थे। त्यसपछि ती रकमहरू विभिन्न बैंक खातामा सारेर त्यसको वास्तविक स्रोत ढाकछोप गरिन्थ्यो। पछिल्लो चरणमा ती रकमलाई बिटकोइन जस्ता डिजिटल मुद्रामा रूपान्तरण गरी अन्तर्राष्ट्रिय एक्सचेन्जमार्फत फेरि गिरोहका अन्य सदस्यहरूलाई पठाउने गरिएको थियो।

टोकियो मेट्रोपोलिटन प्रहरीले यस प्रकरणको अनुसन्धान केही महिनाअघि नै सुरु गरेको थियो। विभिन्न डिजिटल प्रमाण, बैंक रेकर्ड, र क्रिप्टोकरेन्सी ट्रान्ज्याक्सन विश्लेषणमार्फत संलग्नहरूको पहिचान गरिएको हो। पक्राउ परेकाहरूको उमेर, नागरिकता र पहिलेदेखि आपराधिक रेकर्ड रहेको नखुलाइए पनि, प्रहरी स्रोतका अनुसार उनीहरू एकै गिरोहसंग आवद्ध थिए।

जापानी कानूनअनुसार यस्ता आर्थिक अपराधमा ५ वर्षदेखि १० वर्षसम्मको जेल सजाय र उच्च जरिवाना हुने प्रावधान छ। हाल पक्राउ परेकाहरूलाई प्रारम्भिक हिरासतमा राखी विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

जापान प्रहरीले सबैलाई अनलाइन ठगीबाट सतर्क रहन आग्रह गरेको छ। कुनै पनि अपरिचित स्रोतबाट आएको आर्थिक प्रस्ताव, लिंक वा पासवर्ड माग्ने सन्देशहरूलाई बेवास्ता गर्न र आवश्यक परेमा तुरुन्त नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया