जापानले इरान र इजरायलबाट आफ्ना नागरिकको सुरक्षित उद्धार गर्‍यो

  तपाईंको न्यूज |

६ असार २०८२, शुक्रबार १२:३७

जापान-मध्यपूर्वमा जारी तनावका बीच जापानले इरान र इजरायलबाट आफ्ना नागरिकहरूलाई सुरक्षितरूपमा बाहिर ल्याएको छ। जापानी विदेश मन्त्रालयका अनुसार, उद्धार अभियानमार्फत ८७ जना जापानी नागरिक तथा उनीहरूका परिवारजनलाई सुरक्षित रूपमा तेस्रो देशमा स्थानान्तरण गरिएको हो।

विदेश मन्त्री ताकेशी इवायाले शुक्रबार जानकारी दिँदै भने, “स्थानीय विमानस्थलहरू बन्द रहेको अवस्थालाई ध्यानमा राखी बसमार्फत उद्धार गरिएको हो।” उनका अनुसार, तेहरानबाट ६६ जनालाई अजरबैजानको बाकु र तेल अविवबाट २१ जनालाई जोर्डनको अम्मान पुर्‍याइएको छ।

सरकारले अझै इरानमा रहेका जापानीहरूको सुरक्षित उद्धारका लागि तयारी गरिरहेको जानकारी दिइएको छ। शनिबारसम्म थप बसहरू पठाउने योजना छ भने आवश्यक परेमा जिबूतीस्थित जापानी सेल्फ-डिफेन्स फोर्सका दुई विमान पनि परिचालन गरिनेछ।

हाल इरानमा करिब २२० र इजरायलमा करिब १,००० जापानी नागरिक रहेका छन्।

जापानी सरकारले आफ्नो नागरिकको सुरक्षालाई प्राथमिकता दिँदै संकटग्रस्त क्षेत्रबाट समयमै उद्धार गर्न सफल भएको छ।

प्रतिक्रिया