नेपाली काँग्रेस बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको मतदान परिणाम अनुसार बानियाँले १०८५ मत ल्याएर बागमती प्रदेश सभापतिमा जीत हात पारेका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी जगदीश्वर नरसिंह केसीलाई पराजित गरेका हुन् । केसीले ९२७ मत प्राप्त गरेका छन् ।
बानियाँलाई सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला पक्षको समर्थन थियो भने केसीको पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह उभिएको थियो । पहिलो चरणमा सिटौला समूहका भीमसेनदास प्रधान प्रतिस्पर्धामा थिए ।
पहिलो चरणको मत परिणाम अनुसार तेस्रो भएपछि प्रधानले पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका बानियाँलाई साथ दिएका थिए । प्रधानको साथ पाएपछि बानियाँ केसीलाई पराजित गरी नेपाली काँग्रेस बागमती प्रदेशको पहिलो सभापति बन्न सफल भएका छन् ।बागमती प्रदेश काँग्रेस संसदीय दलका नेता बानियाँ मकवानपुर जिल्ला सभापति समेत छन् ।
प्रतिक्रिया