–
मिलन तिमिल्सिना ….
(यहाँ रहेको फोटोमा रातो घेराभित्र राजेन्द्र पाण्डे, हरियो घेराभित्र मेरो बा र निलो घेराभित्र चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ । २०३६ सालमा हेटौंंडामा भएको पहिलो राष्ट्रिय शिक्षक सम्मेलनको लागि धादिङ जिल्लाबाट प्रतिनिधित्व गरेको बेला ।)
अब चाहिँ पाण्डेसँग म र बा जोडिएको प्रसँग र सम्झना :
अलिअलि याद छ, २०४६ सालअघि स्कुल पढाउने बासँगै केही नौला मान्छे घरमा आइरहन्थे । हजुरबालाई बा भन्थे, हजुरबाको आमा अर्थात मेरो हजुरआँबै र बाको आँबैलाई आमा भन्थे । हामीलाई भतिज भन्दै काखमा लिन्थे, माया गर्थे । घरभित्र बसेर घण्टौंसम्म शिक्षा र राजनीतिको कुरा गर्थे । पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनका रणनीति बनाउँथे । पुलिससँग लुकीलुकी हिँड्थे । पुलिस खोज्दै घर आइपुग्थ्यो । कहिलेकाहीँ स्कुलबाटै समातेर लैजान्थ्यो ।
बाको साथमा कहिलेकाहीँ घर आउने र बेलाबेला प्रहरीकोमा सँगै बस्नेमध्ये एक थिए राजेन्द्र पाण्डे । पछि थाहा भयो, धादिङमा कम्युनिष्ट पार्टी स्थापना गर्ने, शिक्षक संगठन खोल्ने र पञ्चायती व्यवस्थाको विरुद्धमा लाग्नेमध्ये मेरो बा र पाण्डे पनि हुन् । पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा लागेकै कारण धादिङका केही शिक्षकसँगै बा र राजेन्द्र पाण्डेको पनि जागिर खोसियो । जागिर गुमेपछि पाण्डे राजनीतिमै केन्द्रित भएर लागे । मेरो बा घरव्यवहार छाडेर राजनीतिमा लाग्न सक्नुभएन ।
यत्तिकैमा २०४६ सालमा बहुदलीय व्यवस्थाको पुनर्स्थापना भयो । लामो समय जेल परेका पाण्डे निस्किए । त्यसपछि पनि उनीसँग बेलाबेला भेट हुन्थ्यो । बा, हजुरबा, हजुरआँबैसँगै हामी केटाकेटीसँग पनि मिठो बोल्थे । २०४८ सालको चुनावमा उनी धादिङ ३ बाट उठे, हाम्रो क्षेत्रबाट गंगालाल तुलाधर ।
चुनावी अभियानकै क्रममा एकपटक पाण्डे हाम्रो घरमा पनि पुगे । बुढी भएकी हजुरआँबैलाई भने : ‘आमा अब धेरै चिन्ता गर्नुपर्दैन, टंकजी (मेरो बा)को खोसिएको जागिर पुनर्बहाली हुन्छ । तर हामीलाई जिताउनुपर्छ, भोट हाल्न जानुपर्छ है ।’
नातिको पुनर्बहाली हुन्छ भन्ने सुनेपछि आँबैको अनुहार उज्यालो भयो । मलाई बोकेर भए पनि चरिमारेटाहार लैजाओ भन्नुभयो र पाण्डेले भनेजसरी भोट खसाल्नुभयो । पाण्डे र तुलाधर दुवैले जिते । सांसद भए । जागिर छोडेर बसेका मेरो बालाई ‘अस्थायी दरबन्दीमा पढाउँदै गर्नुस्, तपाईंको पुनर्बहाली हुन्छ’ भनेर आश्वासन दिए ।
बाले पनि त्यसै गर्नुभयो । आज हुन्छ, भोलि हुन्छ भन्दाभन्दै त्यो कार्यकाल बित्यो । नातिको पुनर्वहाली कहिले होला भनेर आशा गरेर बस्नुभएकी हजुरआँबै बित्नुभयो ।
त्यसपछि अर्को चुनावमा उनीहरु नै उम्मेदवार भए । पहिलेजस्तो घरमा आउन छोडे । कहिलेकाहीँ गाडीमा धादिङ ओहोरदोहोर गरेको देखिन्थ्यो । गोठालो जानुहुने हजुरबासँग कहिलेकाहीँ गाडी रोकेर भन्थे रे ‘बा टंकजीको काम सुरु भैसकेको छ, अब चाहिँ पक्का हुन्छ ।’ हजुरबालाई होला जस्तो लाग्यो, हजुरआँबैले जस्तै हजुरबाले पनि पत्याउनुभयो र भोट दिनुभयो । पाण्डेले दिएको आश्वासनअनुसार छोराको पुनर्बहाली हुन्छ कि भनेर पर्खंदापर्खंदै हजुरबा पनि बित्नुभयो ।
२०६३ सालको परिवर्तनपछि राजेन्द्र पाण्डे स्थानीय विकासमन्त्री भए । मन्त्री भएको केही दिनमा उनीसँग भेट भयो । भेटमा उनले भने, ‘भतिज सांसद मात्रै हुँदा बुवाको काम गर्न सकिएन, अब मन्त्री भएँ, शिक्षा मन्त्रालय मेरो नभए पनि मैले त्यति काम गर्न सक्छु, ढुक्क हुनु ।’ मैले उनले भनेअनुसार बाको कागजात बोकेर मन्त्रालय धाएँ । बाले त आश मारी सक्नुभएको थियो, तर मलाई अलिअलि भए पनि आशा थियो । तर भएन ।
त्यसपछि गंगालाल तुलाधर शिक्षामन्त्री भए । बा र मलाई सँगै राखेर तुलाधरले भने, ‘अब टंकजीको काम मैले गर्ने हो । ढुक्क हुनुहोस्, अब तपाईंको पुनर्वहाली हुन्छ ।’
त्यतिबेलासम्म बा डेढघण्टा उकालो ओरालो गरेर पढाइरहनुभएको थियो । उनले पनि कागजात दिन भने । फेरि उसैगरी मैले उनलाई कागजात बुझाएँ । तुलाधरको कार्यकालमा पनि आश्वासन बाहेक केही भएन ।
बालाई त काम हुन्छ भन्ने आशा मरिसकेको थियो । तर २०५४ सालको सरकारी कार्यदलको प्रतिवेदनमा विना शर्त पुनर्वहाली हुनुपर्ने सूचिमा मेरो बाको समेत नाम भएको र बाको बारेमा सबै थाहा पाएका मन्त्रीहरुले नै हुन्छ भनेपछि पक्कै होला भन्ने मलाई चाहिँ आशा थियो । तर पाण्डे र तुलाधरले मेरो आशा पनि मारिदिए ।
बालेजस्तै आशा मारेर बसिरहेको बेला केही महिनाअगाडि शिक्षामन्त्री देवेन्द्र पौडेलले बाजस्तै अन्यायमा परेका अरु शिक्षकलाई न्याय दिएको खबर आयो । मैले राजेन्द्र पाण्डेसँग जिज्ञासा राखेंं। मुख्यमन्त्री भएका उनले फेरि पनि आश्वासन दिए, ‘म एकपटक शिक्षामन्त्रीलाई भेटेर भन्छु । तिमीले पनि भेट र सबै कागजात देउ । पक्कै हुन्छ ।’ मैले त्यसै गरें । मन्त्री पौडेललाई बाको बारेमा सबैथोक भनें । उनले ‘अरु केहीको पनि यस्तै केस भएकाले हुन्छ, बामाथि अन्याय भएकै रहेछ’ भने । म फेरि आशावादी भएँ । बालाई पनि आशावादी हुन भनें ।
बेलाबेला शिक्षामन्त्री पौडेलका सहयोगीहरुलाई सम्झाउँथे । उनीहरुले पनि एकैलटमा सबैको हुन्छ भने । साँच्चै होला त ? पाण्डेले शिक्षामन्त्रीलाई भेटेर भने होला त भन्ने खुल्दुली लाग्यो । दुई चारपटक मुख्यमन्त्री पाण्डेलाई फोन गरें । उनले त्यसपछि फोन उठाएनन् । मैले फोन गर्न छाडें । पाण्डेको सट्टा शिक्षामन्त्री पौडेलका सहयोगीहरुले आश्वासन दिए । त्यत्तिकैमा चुनाव आयो, त्यो आशा पनि सकियो ।
यसपालि हाम्रै क्षेत्रबाट राजेन्द्र पाण्डे उठे र चुनाव जिते । पहिले उनको मतदाता हजुरआँबै र हजुरबा अनि बाआमा र काकाकाकी हुनुहुन्थ्यो । अहिले हामी र भतिजहरु पनि थपियौं । उनीसँग पहिलेको त्यो आश्वासन छ कि छैन अब खोज्नु पनि छैन । अब बालाई न्याय देउ भनेर भिक माग्नु पनि छैन ।
बाले २०३२ सालदेखि २०४२ सालसम्म स्थायी शिक्षकको रुपमा काम गर्नुभयो । पञ्चायती व्यवस्थाविरुद्ध लागेकै कारण जागिर खोसियो । राजेन्द्र पाण्डेहरुको आग्रहमा २०४८ सालदेखि अस्थायी शिक्षक भएर काम गर्नुभयो । पुनर्वहाली हुन्छ भन्ने उनीहरुकै आश्वासनमा थप २३ वर्ष ८ महिनासम्म डेढ घण्टाको उकालीओराली धाउनुभयो । उमेरहदका कारण अवकाश भएर रित्तो हात फर्कनुभयो ।
राजनीतिप्रति वाक्क हुनुभएका बालाई पहिले पाण्डेहरुसँग पञ्चायती व्यवस्था विरोधी आन्दोलनमा लागेको र उनीहरुकै कुरा पत्याएर बसेकोमा पछुतो छ कि छैन सोधेको छैन । ‘तपैं अन्यायमा परेको हो, न्याय हुन्छ, हामी छौं’ भनेर पाण्डेहरुले आश्वासन दिंदै झुक्याएकोमा कहिलेकाहीँ मलाई पनि दुःख लाग्छ । तर बा राजेन्द्र पाण्डेहरुले जस्तो २०४८ सालपछिको फोहोरी राजनीतिमा लाग्नुभएन, हामीलाई पनि लाग्न प्रेरित गर्नुभएन र उनीहरुलेजस्तो अरुलाई पूरा नहुने आश्वासन बाँड्दै पनि हिँड्नु भएन, त्यसमै चाहिँ आनन्द लाग्छ । (फेसबुकबाट साभार)
प्रतिक्रिया