धादिङ अस्पतालले प्रवाह गर्ने सेवा तथा सुविधालाई थप प्रभावकारी बनाउन सेवाग्राही तथा सरोकारवाला निकायले प्रतिवद्धता जनाएका छन् । अस्पतालको आर्थिक वर्ष ०७८÷७९ को सामाजिक परिक्षण कार्यक्रममा सहभागीहरु सेवाग्राही तथा सरोकारवाला निकायले जिज्ञासा सहित सुझाव दिदै धादिङ अस्पतालको कमी कमजोरी सुधार गरी प्रभावकारी सेवा तथा सुविधा प्रवाह गर्नुपर्नेमा जोड दिएका हुन् ।
अस्पतालले तुलनात्मक रुपमा विगतका दिनहरुमा भन्दा सेवा प्रवाहमा सुधार गरेको छ । तर धादिङ अस्पतालको क्षेत्राधिकार वृहत र सेवाग्राही पनि ठूलो संख्यामा भएका कारण सेवा विस्तार तथा चुस्त बनाउनुपर्ने सहभागीहरुको भनाई छ । कर्मचारी नियुक्तीमा केहि व्यक्तिहरुको हालिमुहाली, सेवा तथा सुविधामा ढिलासुस्ति, सेवाग्राही जादा चिकित्मक नभेटिने समस्या, चिकित्सकले गर्ने व्यवहार, निशुल्क पाइने औषधि सहज नहुनु, एम्बुलेन्स र शव वाहन सेवा लिन कठिन, अस्पताल परिसर शौचालय दुर्गन्धित, सामाजिक सुरक्षा इकाइ प्रभावकारी नहुनु, विशेषज्ञसहितको सेवा निरन्तरता नहुनु जस्ता कमी कमजोरीलाई सुधार गर्नु पर्ने सुभाव दिएका छन् । धादिङ अस्पताललाई सुधार गर्न आ–आफ्नो तवरबाट पहल गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।
अस्पतालले प्रवाह गर्ने सेवा तथा सुविधालाई थप प्रभावकारी बनाउने धादिङ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डण्ट डाक्टर रुद्रमणी भण्डारीले बताए । अस्पतालका लागि थुप्रै सुझावहरु आएका छन् । सबैले यति धेरै चासो दिएर गुनासा र सुझाव दिनुभएको छ । अस्पतालमा सुुधार गर्नु पर्ने कामको थालनी गरी अस्पतालमा सेवा लिन आउनुहुने सेवाग्राहीको विश्वास थपिने काम गर्ने छौं मेसु भण्डारीले बताउनुभयो । त्यस्तै, सहभागीहरुको जिज्ञासा सम्बोधन गर्दै सुझाव र सेवाग्राहीकै चाहना अनुरुप अस्पतालले सेवा प्रवाह गर्ने धादिङ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजाराम रिजालले बताए । अस्पतालसँग धेरैको धेरै चाहना र अपेक्षाहरु छन् । सोहि अनुसार हामीले सेवा तथा सुविधा पनि विस्तार गर्दै आएका छौं । पालिकाहरुसँग पनि समन्वय गरिरहेका छौं । धादिङ अस्पतालले दिने सेवा तथा सुविधामा कुनै पनि हालतमा सहज र प्रभावकारी सेवा प्रवाह गर्ने उहाँले बताउनुभयो ।
धादिङ मिडिया नेटवर्कको आयोजनामा धादिङ अस्पतालको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण गर्दै पत्रकार मनिष दुवाडीले अस्पतालले प्रवाह गर्दै आएका सेवा तथा सुविधा, समस्या तथा चुनौति, अस्पतालले थालेका राम्रा अभ्यास र सुधार गर्नुपर्ने कुरा लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।
धादिङ अस्पतालबाट आर्थिक वर्ष ०७८÷०७९ मा ५२ हजार २०३ जनाले ओपिडि सेव, १३ हजार ३६९ जनाले इमर्जेन्सी सेवा, १३ हजार ६९९ जनाले एक्सरे, ४ हजार २८८ जनाले स्त्री रोग सेवा लगायतका सेवाबाट सेवाग्राही लाभान्वित बनेका छन् ।
प्रतिक्रिया