२० असार, काठमाडौं । इन्टनेटको पहुँच बढेसँगै सामाजिक सञ्जाल दुरुपयोगका घटना पनि बढेका छन् । लकडाउन र निषेधाज्ञापछि फेसबुक, ट्वीटर, टिकटक, इन्स्टाग्राम लगायतमार्फत भएका अपराधका उजुरी बढेको साइबर ब्युरोले जनाएको हो ।
⇒ एकसाता अघि भोटाहिटीस्थित साइबर ब्युरोमा एक जोडी युवायुवतीले उजुरी दर्ता गराए । केही समयदेखि सम्बन्धमा रहेको बताउने उनीहरुले तेस्रो व्यक्तिले अन्तरंग तस्वीर पठाएर धम्की दिइरहेको उल्लेख गरेका थिए । उजुरी परेलगत्तै छानबिन थालेको ब्युरोले प्राविधिक पक्षको विश्लेषण सँगैसँगै तस्वीर कसरी बाहिरियो भन्ने विषयमा पनि अनुसन्धान अघि बढायो ।
छानबिनका क्रममा तस्वीर अरु कसैले नभइ स्वयम् उजुरी दिन आउने प्रेमीले नै पठाएको खुल्यो । ‘फेसबुक एकाउन्ट बनाउन प्रयोग भएको जिमेलको डिटेल हेर्दा त्यहाँ प्रेमीको अर्को इमेल ठेगाना पनि प्रयोग भएको देखियो’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘अरु वस्तुस्थितिले पनि उनकै संलग्नता देखायो ।’
ब्युरोले युवकलाई पक्राउ गर्यो, तर सँगै उजुरी दिन गएका युवकको हातमा हत्कडी लाग्दासम्म युवतीले विश्वास गर्न सकिनन् ।
⇒ दुई दिनअघि महाराजगञ्जकी एक किशोरीलाई आफन्तले पूर्वप्रेमीसँग खिचिएको फोटो पठाए । आफन्तसम्म पुरानो फोटो कसरी पुग्यो भनेर आश्चर्यमा परेकी उनले दाइलाई त्यसबारे बताइन् । खोजी गर्दै जाँदा पूर्वप्रेमीले दुईजनाको तस्वीर सामाजिक सञ्जालमा हालेको भेटियो । लगत्तै छानबिनका लागि साइबर ब्युरो र उपत्यका अपराध अनुसन्धान कार्यालयलाई उनीहरुले गुहारे ।
फेसबुकको कार्यालयसँग सम्पर्क गरेर तस्वीर डिलिट गराउने प्रक्रिया अघि बढिरहेको थियो, युवकसँग प्रहरीको सम्पर्क भयो । प्रहरीले घटना अनुसन्धान गर्न थालेको थाहा पाएलगत्तै उनले फेसबुकबाट तस्वीर हटाइदिए र माफी मागे । घटना सामसुम भयो ।
⇒ नेपाल राष्ट्र बैंकको तस्वीर राखिएको एउटा फेसबुक पेजमा २०० जनाका लागि नगद अनुदान घोषणा गरिएको छ । यस कार्यक्रममार्फत एक बैंकले १०० जना व्यक्तिलाई अनुमानित एक हजार अमेरिकी डलर दिने भनिएको छ । फेसबुक पोष्ट देखेर अनुदानबारे बुझ्न राष्ट्र बैंकमा फोन जान थालेपछि अधिकारीहरु आश्चर्यमा परेका छन् ।
बैंकका प्रवक्ता देवकुमार ढकाल भन्छन्, ‘हाम्रो कुनै फेसबुक पेज छैन, गलत प्रोफाइलमा सूचना दिएर सर्वसाधारणलाई ठग्ने प्रयास भइरहेको रहेछ ।’ उनका अनुसार राष्ट्र बैंकको नामबाट फेसबुक खोल्ने व्यक्तिको खोजी गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पनि पत्राचार गरिएको छ ।
⇒ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो आफ्नै नामको अर्को फेसबुक आइडी देखेपछि छक्क परे । हैरान पार्ने कुरा त सिडिओको नक्कली आइडीबाट विभिन्न व्यक्तिलाई म्यासेज पठाएर रकम असुली पनि भइरहेको थियो ।
‘पैसा माग्दै म्यासेज गएपछि मलाई फोन गरेर साथीहरुले जानकारी दिनुभयो’ महतो भन्छन्, ‘प्रहरीको साइबर ब्युरोमा पनि उजुरी दिएको छु ।’
⇒ काठमाडौंकी एक युवतीलाई आफ्नै अश्लील भिडियो म्यासेन्जरमा आयो । तर उनलाई थाहा थियो, त्यो दृश्य उनले कहिल्यै खिचेकी थिइनन् । भिडियोसँगै नग्न तस्वीरहरु पनि आउन थाले ।
खासमा एक युवकले इन्टरनेटमा भेटिने नग्न तस्वीर र भिडियोमा उनको टाउको जोडेका थिए । ब्युरोका एसएसपी नविन्द अर्याल भन्छन्, ‘पीडितको अनुहारमा अपरिचित महिलाको नग्न तस्वीर जोडेको पुष्टि भएपछि डल्लुका २६ वर्षीय सानु पोडेलाई २८ जेठमा पक्राउ गरेका छौं ।’
०००
साइबर ब्युरोका एसएसपी अर्यालका अनुसार उल्लेखित घटनाहरु पछिल्ला उदाहरण मात्रै हुन् । लकडाउन र निषेधाज्ञाको अवधिमा साइबर अपराधका घटना ह्वात्तै बढेका छन् ।
साइबर अपराधमा पनि ९५ प्रतिशत घटना सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इन्स्टाग्राम, टिकटक र इमेलसँग जोडिएका छन् । ‘पहिले डाटा बि्रचिङ, ह्याकिङ लगायतका घटनाहरु धेरै देखिन्थे, हाल सामाजिक सञ्जालसँगै जोडिएका उजुरीहरु बढी आउने गरेका छन्’ केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को साइबर शाखामा पनि काम गरेको अनुभव भएका अर्याल भन्छन्, ‘सामाजिक सञ्जालका प्रयोगकर्ता बढेसँगै यसको दुरुपयोग पनि बढेको छ ।’
उनका अनुसार सामाजिक सञ्जालबाट हुने ठगीका घटना बढेका छन् । सामाजिक सञ्जालमा आपत्तिजनक तस्वीर राखेर ‘ब्ल्याकमेल’ गर्ने प्रवृत्ति पनि देखिएको छ । ‘निषेधाज्ञाको समयमा मात्रै १४५ वटा लिखित उजुरी ब्युरोमा परेको छ’ उनी भन्छन्, ‘यही अवधिमा ब्युरोले २५ सय आईडी बन्द गराएको छ, जुन छद्म नामबाट बनाइएका थिए ।’
प्रतिक्रिया