जापानमा नेपाली विद्यार्थीको अवस्था:विद्यार्थी भिसाको नाममा श्रमिक जीवन

  तपाईंको न्यूज |

२७ जेष्ठ २०८२, मंगलवार १५:४८

✍️ भुवन भण्डारी/जापान
जापान, आधुनिक प्रविधि, अनुशासन र शिक्षा प्रणालीमा उत्कृष्ट मानिएको देश, नेपाली युवाहरूको प्रमुख गन्तव्य बन्न थालेको धेरै वर्ष भइसकेको छ। विशेषगरी पछिल्ला केही वर्षहरूमा नेपालबाट जापान आउने विद्यार्थीहरूको संख्या डरलाग्दो हिसाबले वृद्धि भएको छ। तर, चम्किलो देखिने जापानको यात्रा भित्र गहिरो अँध्यारो पीडा लुकेको छ, जुन धेरै नेपाली विद्यार्थीहरू दिनरात सहन बाध्य छन्।

जापानको गृह मन्त्रालय (Immigration Services Agency) को रेकर्डको आधारमा जापानमा नेपालीको संख्या डिसेम्बर २०२४ सम्मको रेकर्ड अनुसार २३३,०४३ पुगेको छ।त्यसमा विद्यार्थी भिसामा ६४,८१६ रहेका छन्।”Japan Student Services Organization को अध्ययन अनुसार, २०२४ को मे १ सम्म जापानमा ३३६,७०८ जना विदेशी विद्यार्थी थिए, जुन अघिल्लो वर्षको तुलनामा २१% ले वृद्धि भएको हो। यो तथ्यांक अनुसार, सबैभन्दा धेरै विद्यार्थीहरू एशियाबाट आएका छन् (९२.५%), जसमा चीनबाट सबैभन्दा धेरै १२३,४८५ विद्यार्थी छन् भने नेपालबाट ६४,८१६ विद्यार्थी सहित दोस्रो स्थानमा छ।”२०२४ मे यता पनि जापान आउने नेपाली बिद्यार्थीहरूको संख्या झन् डरलाग्दो छ ।

विद्यार्थी भिसाको नाममा श्रमिक जीवन:
विद्यार्थी भिसा लिएर जापान आउँदा पढाइलाई प्राथमिकता दिनुपर्ने हो। तर वास्तविकता के छ भने, नेपाली विद्यार्थीको ठूलो हिस्साले पढाइ भन्दा बढी पैसा कमाउने उद्देश्य बोकेर जापान यात्रा गर्छन्। नेपालमा देखेको सपना र कन्सलटेन्सिले देखाएको सपना जापान आइपुगेपछि चकनाचुर हुन्छ।

जापान सरकारको नियम अनुसार, विदेशी विद्यार्थीले हप्तामा २८ घण्टाभन्दा बढी काम गर्न पाइँदैन। तर, नेपालबाट ऋण लिइर, घरको सम्पत्ति धितो राखेर आएका विद्यार्थीहरूलाई २८ घण्टाको कामले पढाइ र आफ्नो खर्च धान्न पनि धौधौ हुन्छ।नेपालबाट आएको ऋण तिर्न निकै गाह्रो छ।

ऋण, महँगी, तनाव अनि आत्महत्या:
नेपालमा धेरै विद्यार्थीले जापान आउनका लागि १६ देखि १८ लाख रुपैयाँसम्म ऋण लिएका हुन्छन्, जुनको मासिक ब्याज मात्रै घरमा ठूलो बोझ बन्छ। जापानको हालको महँगी, कोठा भाडा, खानपान, कलेज शुल्क—सबै मिसाएर एक महिनामा ठाउँ अनुसार फरक हुन सक्छ तर कम्तीमा १ लाख देखि १ लाख ३० हजार जापानीज येन चाहिन्छ।

जसको लागि हप्ताको २८ घण्टा कामबाट कमाएको पैसाले पुग्दैन। कतिपयले ह्यान्ड क्यास (नियमबाहिरको अवैध) काम गरेर खर्च धान्छन्, तर यसको खतरा निकै ठूलो हुन्छ। ह्यान्ड क्यास काम गर्दा अध्यागमनले थाहा पायर भिसा खारेज पनि हुन सक्छ र नेपाल फिर्ता, र भविष्यमा जापान आउन नपाउने अवस्था पनि आउन सक्छ।

यही आर्थिक, मानसिक र सामाजिक तनावका कारण पछिल्ला वर्षहरूमा जापानमा नेपाली विद्यार्थीहरूको आत्महत्याको संख्या बढ्दो छ। एउटा विद्यार्थीले आत्महत्या गर्दा त्यसको पीडा परिवार, साथीभाइ र सम्पूर्ण समुदायले सहनुपर्छ।

जापानी जीवनशैलीसँग जुध्दै नेपाली विद्यार्थी:
१२ कक्षा सकेर १८/१९ वर्षकै उमेरमा जापान आएका विद्यार्थीहरू अझ बढी समस्यामा हुने गर्छन्। सानै उमेरमा घर परिवारबाट टाढा, भाषा नबुझिने, यी सबैले उनीहरूलाई मानसिक रूपमा कमजोर बनाउँछ। जापानी भाषा सजिलो छैन, विशेषगरी कान्जी (漢字) धेरै कठिन हुन्छ। भाषा नआएको विद्यार्थीलाई काम लगायत हरेक कुरा गाह्रो छ।

कलेजको पढाइ सकिएपछि सेनमोन् (專門学校) जानुपर्छ भने खर्च त्यत्तिकै बढ्छ। रूम सर्न खोज्दा नयाँ सम्झौता, किहोन र्योकिन (सुरुवाती शुल्क) आदि तिर्नै पर्छ जुन ठाउँ अनुसार १ लाख येनदेखि २ लाख येनसम्म पर्न सक्छ।
याे शुल्क ठाउँ अनुसार फरक पनि पर्न सक्छ।धेरैजसो विद्यार्थी नेपालबाट आएको २-३ महिनासम्म काम नपाएर बस्न बाध्य हुन्छन्। कोठा भाडा, खान खर्च, कलेजको फी—सबै भित्रै पीडासँग थामिरहेका छन्। खान नपाएर रात कटाउने विद्यार्थीहरू पनि छन्, तर उनीहरू त्यो पीडा बाहिर देखाउँदैनन्।

सरकार र अभिभावकको ध्यान जानु जरुरी पनि छ:
नेपाल सरकारले जापान आउने विद्यार्थीहरूको लागि भाषा, तालिम, वास्तविक जीवनशैलीको जानकारी, र वित्तीय तयारीको मार्गदर्शन अनिवार्य बनाउनु पर्छ। त्यस्तै, जापानस्थित नेपाली दूतावास, एनआरएन जापान, र नेपाली संघ-संस्था,नेपाली विद्यार्थी समाज जापानले विद्यार्थीहरूका लागि परामर्श सेवा, सहयोग केन्द्र स्थापना गर्नुपर्छ।अभिभावकहरूले पनि जापानलाई चमत्कारी गन्तव्य ठान्न छोड्नुपर्छ। सबै विद्यार्थीले पैसा कमाएर छिट्टै ऋण तिर्छ।कमाउछ जमाउछ भन्ने भ्रम हटाउनुपर्छ।

प्रतिक्रिया