जुलाईदेखि जापानमा बिजुली महसुल घट्ने, मासिक बिलमा ६१६ येनसम्म छुट सरकारी अनुदानका कारण तीन महिनासम्म राहतको व्यवस्था

  तपाईंको न्यूज |

५ असार २०८२, बिहीबार ११:०१

टोकियो, जापान
टोकियो इलेक्ट्रिक पावर कम्पनी होल्डिङ्स इन्क (TEPCO) ले जुलाई २०२५ देखि आवासीय बिजुली महसुलमा कटौती गर्ने घोषणा गरेको छ। मूल्य घट्ने घोषणासँगै जापानभरका उपभोक्ताहरूलाई मासिक बिलमा अघिल्लो महिनाको तुलनामा अधिकतम ६१६ येनसम्म राहत हुने अनुमान गरिएको छ।

कम्पनीका अनुसार, उच्च मूल्यवृद्धिको असरलाई कम गर्न जापान सरकारले आगामी तीन महिनासम्म बिजुली र सहरी ग्यासमा अनुदान दिने योजना ल्याएको छ। सोही योजनाअनुसार विद्युत महसुलमा सीधा प्रभाव परेको हो।

बढ्दो महँगी, इन्धन लागत र जीवनयापन खर्चका बीच सरकारले लिएको यो कदम आम नागरिकका लागि अल्पकालीन राहत भएको ऊर्जा मन्त्रालयको भनाइ छ।
विशेषगरी शहरमा बस्ने मध्यम वर्गीय तथा निम्न आय भएका परिवारहरू यो योजनाबाट लाभान्वित हुने अपेक्षा गरिएको छ।बिशेषगरि यसले विदेशी विद्यार्थीमा केही हदसम्म राहत मिलेको छ।

यो महसुल कटौती विशेषतः टोकियो तथा आसपासका क्षेत्रमा सेवा पुर्‍याउने TEPCO का ग्राहकहरूका लागि लागू हुनेछ। अन्य बिजुली कम्पनीहरूले पनि यस्तै योजनाको पालना गर्ने सम्भावना रहेको जनाइएको छ।

अनुदान योजना जुलाईदेखि सेप्टेम्बरसम्म लागू हुने भएकाले यो अवधिपछि पुनः महसुल परिवर्तन हुने सम्भावना रहन्छ। सरकारले मूल्यवृद्धि नियन्त्रणका लागि दीर्घकालीन नीति तयार गरिरहेको जनाए पनि हाललाई यो निर्णय अस्थायी राहतका रूपमा हेरिएको छ।

प्रतिक्रिया