दैलेखमा प्राकृतिक ग्याँसको भण्डारण फेला, ५० वर्ष नेपाललाई पुग्ने उद्योग मन्त्रालयको दाबी

  तपाईंको न्यूज |

५ असार २०८२, बिहीबार १५:२६

दैलेख — दैलेख जिल्लाको जलजले क्षेत्रमा चिनियाँ प्राविधिक टोलीको अन्वेषणबाट ठूलो मात्रामा प्राकृतिक ग्याँसको भण्डारण फेला परेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीका अनुसार, प्रारम्भिक अनुसन्धानमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको अनुमान गरिएको छ। उक्त ग्याँस मिथेन प्रकारको भएको र यसले पेट्रोल तथा डिजेलको तुलनामा स्वच्छ इन्धनका रूपमा काम गर्ने मन्त्रालयले जनाएको छ।

मन्त्री भण्डारीले जानकारी दिनुहुँदै भने, “चारवटा स्थानमा रहेको ग्याँसको भण्डारणबाट करिब ५० वर्षसम्म नेपालको आवश्यकता पूरा गर्न सकिने देखिएको छ।”

उक्त अन्वेषण चिनियाँ विशेषज्ञ टोलीको प्रविधिको सहायतामा गरिएको हो। विस्तृत अध्ययनपछि थप पुष्टि हुने मन्त्रालयको भनाइ छ।

हाल सरकार ग्याँसको परिमाण, गुणस्तर र व्यावसायिक उत्पादनको सम्भाव्यता मूल्यांकन गर्ने तयारीमा रहेको छ। प्राकृतिक ग्याँसको सफल उत्खनन र उपयोगले नेपालमा स्वदेशी इन्धनको सम्भावनालाई थप उजागर गर्ने विश्वास लिइएको छ।

प्रतिक्रिया