धादिङ — नेकपा एमाले धादिङ जिल्ला कमिटीले असार ७ गते नवौं जिल्ला अधिवेशन पश्चात् को पहिलो प्रतिनिधी परिषद् बैठक आयोजना गर्ने भएको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले कार्यक्रमको उद्घाटन गर्ने तय गरिएको जिल्ला सचिव राधिका सापकोटाले जानकारी दिनुभयो।
बैठकमा जिल्लास्तरीय अधिवेशनमा सहभागी प्रतिनिधिहरू, जिल्ला कमिटीका सदस्यहरू र विभिन्न पालिकाबाट प्रतिनिधित्व हुने गरी कुल ५७८ जना सहभागी हुने जनाइएको छ।
कार्यक्रममा पार्टीको हालसम्मको गतिविधि समीक्षा, आगामी कार्ययोजना निर्माण, विधान संशोधन सम्बन्धी सुझाव संकलन लगायतका विषयमा समूहगत छलफल गरिनेछ। प्रत्येक पालिका अनुसार समूह बनाई छलफल गरी प्रस्तुती दिने व्यवस्था गरिएको एमाले धादिङले बताएको छ।
बैठकले पार्टीभित्रको संगठनात्मक सुदृढीकरणका साथै आगामी कार्यदिशालाई प्रभावकारी बनाउने मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ।कार्यक्रम जिल्ला कमिटिले गरेको सांगठनिक, राजनीति र आर्थिक प्रतिवेदन प्रेस गर्ने र त्यस माथि छलफल हुने र आगामी कार्ययोजना निर्माण हुने सचिव सापकोटाले बताउनुभयो।
प्रतिक्रिया