काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले सन् २०३५ सम्म २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित हाइड्रोपावर सम्बन्धी प्राविधिक जनशक्ति उत्पादन गर्न तालिम कार्यक्रम प्रारम्भ गरेको छ।
ऊर्जा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) को सहकार्यमा सुरु गरिएको उक्त तालिम कार्यक्रमले प्रविधिमैत्री, व्यवहारिक सीपयुक्त र जिम्मेवार प्राविधिक जनशक्ति उत्पादनमा टेवा पुर्याउने विश्वास लिइएको मन्त्रालयले जनाएको छ।
ऊर्जा मन्त्रीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै, “यो लक्ष्य केवल संख्याको होइन, समृद्ध नेपालको दिगो भविष्य निर्माण गर्ने हाम्रो साझा संकल्पको प्रतीक हो,” भन्नुभएको छ।
उहाँले तालिम संयोजक, प्राविधिक टिम, CTEVT परिवार तथा सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद दिँदै, “तपाईंहरूको समर्पण र योगदानकै कारण हाम्रो ऊर्जा क्षेत्र दिगो र आत्मनिर्भर बन्दै गएको छ,” उल्लेख गर्नुभएको छ।
मन्त्रालयले आगामी वर्षहरूमा विद्युत् उत्पादन वृद्धिसँगै जनशक्ति उत्पादनमा पनि विशेष जोड दिँदै आएको छ।
प्रतिक्रिया