वडाअध्यक्ष बस्नेतको सम्वेदनशील निर्णय: अन्त्येष्टिका लागि निःशुल्क दाउरा

  तपाईंको न्यूज |

९ असार २०८२, सोमबार १०:४४

बेनिघाट रोराङ/धादिङ
मृत्युपछि गरिने अन्त्येष्टिमा आवश्यक पर्ने सामग्री जोहो गर्नु अझै पनि धेरै कम आर्थिक अवस्था भएका नेपाली परिवारका लागि ठूलो चुनौती हुने गरेको अवस्थामा धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ का वडाध्यक्ष कुमार बस्नेतले सम्वेदनशील र मानवीय निर्णय लिएका छन्।

असार ८ गतेदेखि लागू हुने निर्णयअनुसार अब वडाभित्र निधन हुने व्यक्तिको अन्त्येष्टिका लागि आवश्यक पर्ने दाउरा वडाबाटै निःशुल्क उपलब्ध गराइनेछ। यसबाट विशेषगरी आर्थिक रूपमा कमजोर, विपन्न र असहाय परिवारहरूलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

वडाध्यक्ष बस्नेतले भने:
“हाम्रो उद्देश्य वडाभित्रका नागरिकलाई अन्तिम क्षणसम्म पनि सम्मानजनक व्यवहार सुनिश्चित गर्नु हो। दाउराको अभावले अन्त्येष्टि संस्कारमा बाधा नहोस् भन्ने सोचले यो निर्णय लिएको हुँ।”

वडाले आवश्यक दाउरा संकलन, व्यवस्थापन र वितरणका लागि पूर्वतयारी गरिसकेको छ। अब पीडित परिवारले अन्त्येष्टिको बेला दौडधुप गर्नुपर्ने झन्झट हटेको छ।

वडाध्यक्ष बस्नेतको यो निर्णयलाई सामाजिक न्याय र सहानुभूतिपूर्ण प्रशासनको उत्कृष्ट उदाहरणको रूपमा लिईएको छ।समाजमा आवश्यक मानवीय संवेदना र व्यवहारिक समाधानको खोजीमा यस्तो निर्णयले स्थानिय सरकारको भूमिकालाई थप सार्थक बनाएको सामाजिक सञ्जालमा धेरैले प्रतिक्रिया व्यक्त गरेका छन्।

प्रतिक्रिया