लक्ष्मण शर्मा
२०५४ सालमा ने क पा (एमाले) विभाजन गरेर वामदेव गौतमको नेतृत्वमा ने क पा (माले) गठन भएपछि धादिङको एउटा औपचारिक कार्यक्रममा त्यो ताका केन्द्रीय पहुँच राख्ने एउटा धादिङे नेताले ३०,००० पार्टी सदस्य मालेमा गएको आँकलन गरेका थिए। त्यो बेलातिर ने क पा (एमाले) को पार्टी सदस्य करिब एक देखि सवालाख थियो होला। मलाई थाहा छ, त्यो समयमा एमालेको सदस्यताको वितरण, नविकरण तथा अभिलेखिकरण प्रणाली चुस्त दुरुस्त थियो। वामदेवले एमाले फुटाएर लाँदा पोलिटब्युरोमा बहुमत थियो, १५ वर्ष देखिको सिपी मैनाली नेतृत्वको असन्तुष्ठ समूहले काँध थापेको थियो, वामदेव गौतमलाई २०५४ को स्थानीय तहको निर्वाचन जिताएको क्रेडिट थियो र माधव ओली रहेको संस्थापन पक्षलाई सबभन्दा ठूलो आरोप महाकाली सन्धीमा राष्ट्रघात गरेको भन्ने थियो। फेरि पञ्चायतकाल देखिको कार्यकर्ताको प्यारो ने क पा (माले) को भावनात्मक नाम त छँदै थियो।
२०५९ सालमा हो के रे, वामदेवको पार्टी चलेन, राष्ट्रिय सभागृहमा एउटा कार्यक्रम आयोजना गरेर वामदेव कामरेडले आत्मालोचना गर्दै ने क पा (माले) विसर्जन गरे। त्यहिँ सुनेको ६००० पार्टी सदस्यहरु लिएर वामदेव फर्केका रे। ने क पा (माले) पूनर्गठन गर्ने उनको रहर पूरा हुन सकेन, त्यो समूह पनि एमाले भन्दा फरक केहि हुनसकेन, सत्ताको रोटेपिङमा केहि समय मच्चिए, थच्चिए। सशस्त्र सङ्घर्षको कार्यनीति लिएको माओवादीको रापताप गाउँघरमा बढ्दो थियो। शहरीया वाम पंक्तिलाई पनि उसको तिलस्मी कथाले उत्साही बनाउँदैथियो। गै स स सङ्ग जोडिएका वामहरुको अधिकारमुखी व्यवसाय चम्कँदैथियो। त्यसले गर्दा वामदेव नेतृत्वको मालेमा लागेका स्थानीय कार्यकर्ताहरु कि कम्प्रोमाइज गरेर सुरक्षित हुने, कि माओवादीमा सहभागी हुने, कि शहर बजारतिर पलायन हुनु स्वभाविक नै भयो।
२०६३ सालमा जनान्दोलन पछि माओवादी शान्ति प्रकृयामा आए। द्वन्दकालमा पैसा र अन्य रणनीतिक सहयोगको लागि दवाब दिने माओवादीहरु शान्ति प्रकृयामा आएपछि उनीहरुको पार्टीमा जोइन गर्न फकाउन थाले। एउटा वर्षाको शनिवारको दिन मैले काम गर्ने विद्यालयको बैठक कोठामा माओवादीका दुई सङ्गठकहरुसङ्ग मेरो कुराकानी भयो। म त्यति बेला नेपाल शिक्षक युनियनको राष्ट्रिय समितिको सदस्य थिएँ। हामी क्रान्ति सम्पन्न गर्छौं, जनवाद ल्याउँछौं आदि भने, मैले पत्याइन। हतियार र कार्यकर्ता क्याण्टोनमेण्टमा बन्द गरेर कसरी क्रान्ति हुन्छ ? विचार पनि शहरमा भिन्दै ( सम्विधान सभा) गाउँमा भिन्दै ( सशस्त्र विद्रोह) भनेर क्रान्ति हुन्छ ? माले-एमालेबाट गएका कार्यकर्ताहरु खै, कति थिए, कहाँ कहाँ पुगे ? आदि प्रश्न मैले गर्दा उत्तर पाएको मालेका करिब १५,००० पार्टी सदस्य उनीहरुको पार्टीमा संलग्न भएको आधिकारिक तथ्याङ्क थियो रे। दाङका माले नेता शिवराज गौतम ( हाल दिवंगत) केन्द्रीय सदस्यसम्म भएका थिए रे।
अहिले हिसाब गरेर हेर्दा, ३० हजार मध्ये २१ हजारको हिसाब देखियो, २ हजार जति पार्टी सदस्य सिपी मैनालीले बाँकि राखे होलान्। अझै ७ हजार जति हराए। गाउँघरमा हेर्दा मालेमा लागेका साथीहरु जो एमालेमा फर्केनन् ती कोहि विदेश पलायन भए, कोहि उच्च शिक्षा आर्जन गरेर जागिर पेशातिर रमाए, कोहि व्यवसायी भएको भेटिन्छ। अर्थात राजनीतिक हिसाबले पलायन भएका भन्न सकिन्छ।
फेरि, २४ वर्ष पछि एमाले टुक्रिएको छ। केहि कार्यकर्ता अवस्य पनि फर्कनेछन्। पार्टीका केन्द्रीय नेताको असन्तोष र स्थानीय कार्यकर्ताको असन्तोष फरक व्यक्ति र प्रवृत्तीहरुमा हुँदो रहेछ। त्यसैले केन्द्रीय नेताहरुले आफू खुसी फर्कने निर्णय गर्दा स्थानीय कार्यकर्ता अलमलमा पर्छ, कोहि जसोतसो फर्कन्छन, कोहि विरक्तिएर पलायन हुन्छन्। आफू, आफ्नो वर्ग आदि सुहाउँदो कुनै समूहको चहल पहल बढेमा त्यतै सहभागी हुन पनि सक्छन्।
चोइटिएर बनेको समूह पार्टी बनेर फुलेको फलेको देखिएन। हामीले जान्ने सुन्ने भए पछि पनि कुनै बेलाको रापताप भएका काङ्ग्रेसी महामन्त्रीहरु डा तुलसी गिरी र विश्वबन्धु थापा, पछिका ३६ से समूहका तारानाथ रानाभाट, चिरञ्जीवी वाग्लेहरु गुमनाम छन्। पुष्पलाल- तुलसीलाल- मोहन विक्रमहरु बिचको द्वन्दबाट बाहिरिएका कतिपय पञ्च भए कति पलायन भए, कति जागिरे भएर हराए। २०३९ ताकाको सिपी भर्सेस मदन-माधव-जे एनहरुको द्वन्दबाट पाखा लागेका मणिलाल राई ( रसुवा कालिका स्थानका प्र अ ) भर्खरै दिवङ्गत भएका जीवन मगर (कान्तिपुरकर्मी) जस्ता गुमनाम आफ्नो समयका क्रान्तिकारीहरु जिल्ला जिल्लामा भेटिन्छन्। माओवादी भित्रको शक्ति सङ्घर्षबाट उछिट्टिएका दिवङ्गत यानप्रसाद गौतम, टोपबहादुर रायमाझी र रबिन्द्र श्रेष्ठहरुको कथाव्यथा पनि उस्तै रह्यो।
सारमा यो फूटमा पनि थोरै केन्द्रीय नेताहरुको स्वार्थ मिलेपछि बिद्रोह साम्य हुनेछ। तर स्थानीय तहका नेता कार्यकर्ताहरुको विद्रोहको समाधान हुनेछैन। पहिले जस्तै केहि कार्यकर्ता पुरानै पार्टीमा जोडिनेछन्, केहि पेशा व्यवसायमा जोडिनेछन, केहि जागिरे जीवनतिर लाग्नेछन्। कतिपय विदेशतिर काम वा छोराछोरीको शरणमा जानेछन्। त्यसैले सुरुमा विद्रोह गर्न रोमाञ्चक नै हुन्छ तर त्यसको उत्सावर्धक समाधान सोचेको जस्तो हुँदैन। यसपटक हेरौं, कति नेता कार्यकर्ताहरु राजनीतिक रुपले पलायन हुनेछन्। मेरो प्यारो कमरेड, तपाईं चाहिँ के गर्नुहुन्छ ?
प्रतिक्रिया