एनजीओमा संलग्न हुँदैमा बालअधिकारकर्मी भइन्छ र ?

  सम्पादक |

-राजेश शर्मा
बाल क्लबका सदस्य १६ वर्षीय एक भाइको म्यासेज आयो । उनले लेखेका थिए, ‘दाइ मैले राजनीतिक दलका बारेमा फेसबुकमा लेख्न हुन्छ कि नाइ ?’ सँगै अर्को प्रश्न पनि थियो, ‘हामी बालबालिकाले यो पार्टी ठीक यो बेठीक भन्यौँ भने कसरी निष्पक्ष भइयो र ?’

 उनको अन्तिम प्रश्न थियो, ‘विद्यालयमा दलगत कार्यक्रम नगर्नू, बालबालिका र विद्यालय शान्ति क्षेत्र हुन् भनेर किन भनिएको हो ?’

उनी र मबीच म्यासेजन्जरमा यस्तै विषयमा कुराकानी भइरहेका बेला उनले एउटा स्क्रीनसट पठाए । त्यो थियो- बालबालिकाको क्षेत्रमा कार्यरत संस्थाहरूको सञ्जालकका एक अध्यक्षको । प्रचण्ड र माधव नेपालले राजनेता केपी ओलीलाई काम गर्न दिएनन् र देश विकास हुन पाएको छैन, प्रचण्ड सत्ताको लागि जे पनि गर्छन् । यस्तै आशयकाे यो स्टाटसले ती भाइलाई उकुसमुकुस बनाएछ । नहोस् पनि किन ? बालबालिका राजनीतिक दलमा लाग्नु हुन्न । उनीहरूले पक्षधरता देखाउनु हुन्न भनेर सिकाउनेहरूकै यस्तो स्टाटस । अब के गर्ने ?

‘उहाँ कसरी बालअधिकारकर्मी हुनु भयो र ?’ ती भाइले मलाई अर्को म्यासेज लेखे, ‘उहाँले सिकाएको, बोलेकोलाई के आधारमा विश्वास गर्ने ?’

उनले मलाई सोधेको प्रश्नले म पनि एकछिन् अलमलमा नै परेँ । उनको प्रश्न थियो, ‘बालअधिकारकर्मीमा हुनुपर्ने गुणहरू के के हुन् ? कतै लेखेको छ कि दाइ ? कि एनजीओ खोल्दैमा हुने हो ?’

यसपछि केही बालअधिकारकर्मीहरूको फेसबुक हेर्न थाले । लामो समयदेखि बालबालिकाको क्षेत्रमा क्रियाशीलहरूको फेसबुक हेर्दा लाग्यो ‘निष्पक्षता’ भन्ने शब्दको खडेरी नै रहेछ । अर्थात् बालअधिकार महासन्धि र विद्यमान कानुनहरू स्वंय बालअधिकारकर्मीहरूले नै मान्दैनन् । 

अहिले नेपाली कांग्रेसको महाधिवेशनकालागि समितिगत चुनावहरू भइरहेका छन् । यही चुनावमा एक बालअधिकारकर्मी नगर सभापतिको उम्मेदवार छन् । र उनले भोट मागिरहेका छन् । उनी चुनाव लड्न पाउँछन् र राजनीतिक आस्था, विचार राख्न मात्र होइन संगठित हुन पाउने हक उनले पनि प्रयोग गर्न पाउँछन् । तर उनी बालअधिकारकर्मीकै रुपमा कार्यरत रहँदा के निष्पक्ष हुन सक्लान् ? वा चुनावको नतिता जे आए पनि उनी बालअधिकारकर्मीको रूपमा नभइ समाजमा राजनीतिक कार्यकर्ताको रुपमा मात्र परिचित हुन सक्छन् त ? यस्तै अरु धेरै प्रतिनिधि हुन मैदानमा खटिएका छन् । अब प्रश्न उठ्छ उनीहरू बालअधिकारकर्मी हुन् या राजनीतिक दलको कार्यकर्ता वा नेता ?

बालबालिकाको क्षेत्रमा कार्यरत संस्थाहरूको एक सञ्जालका अध्यक्ष फेसबुकमा लेख्छन, ‘कमरेड’लाई बधाइ छ । हो, ‘कमरेड’ भनेको साथी हो । नेपालको जय होस् अर्थात ‘जय नेपाल’ लाई त सुरक्षाकर्मीबाहेक अरूले प्रयोग गरेकोमा पार्टीसँग जोड्ने हाम्रो संस्कार छ । अर्थात कम्युनिष्टहरूले जयनेपाल प्रयोग गर्दैनन् भन्ने प्रचलन नै छ । यस्तो बेला ‘कमरेड’लाई साथीको रुपमा मात्र बुझन कठिन छ । र त ‘कमरेड’ भन्नासाथ कम्युनिष्ट पार्टीको सदस्य बुझिन्छ । नेताहरूको स्टाटसमा कमेन्ट गर्दा पनि ‘कमरेड’ लेख्न अधिकारकर्मी उत्साहित हुन्छन् । 

यस्तै अर्को सञ्जालका अध्यक्षले पनि सामाजिक सञ्जालमा यो पार्टी राम्रो यो नराम्रो लेख्छन् । फरक यत्ति छ अरु सोझै गाली गर्छन् । उनी मिलाएर एक पार्टीका नेताको बचाउ र अर्कोलाई गाली गर्न तयार  छन् । लुम्बिनी प्रदेशसभा सदस्य विमला वली र एक युवकको फोटो प्रकरणमा अधिकारकर्मीलेनै विभेद र उत्ताउलो स्टाटस लेख्छन् । ति अधिकारकर्मीको सो स्टाटसमा आएको गलत भयो भन्ने कमेन्टको वास्तै गर्दैनन् । अझ अगाडि बढेर तथानाम लेख्छन् ।

महिला हिंसा देखिने स्टाटस लेख्ने यी अधिकारकर्मीले विगतमा न्यायको पक्षमा काम गरे भन्नेमा आशंका उब्जिन्छ । बबरमहलको कोठा भाडा प्रकरणमा कोटा र कोठा जोडेर लेख्नेहरू पनि केही बालअधिकारकर्मीनै थिए । केहीले त छुवाछुत विरुद्दको मुद्दा दर्ता हुनु पनि गलत हो समेत भनेर लेखे । यस्ता धेरै विषयहरू छन् जुन बालअधिकारकर्मीसँग प्रत्यक्ष जोडिएका छन् । 

बालक्लवका सदस्य भाइले भने जस्तै बालअधिकाकर्मीको परिचय के हो ? उनीहरूमा हुनुपर्ने गुणहरू के के हुन् ? उनीहरूले कस्तो विषयमा बोल्ने, लेख्ने, कसरी आवाज उठाउने ? उनीहरूबाट बालबालिकाले के सिक्ने यस्तै विषयमा यो लेख लेख्न खोजिएको हो । 

बालअधिकार । अर्थात बालबालिकाको आधिकार । महिला अधिकार, जनजाती अधिकार, दलित अधिकार लगायत अरू अधिकारहरू स्वयं व्यक्तिले पनि उठान गर्न सक्छ । तर बालअधिकार यस्तो क्षेत्र हो जसकालागि अर्को व्यक्ति आवश्यक पर्छ । अर्थात बालअधिकारको सवाल बालबालिकाको मात्र नभइ बयस्कको पनि दायित्व हो । एक बालक वा बालिकाले मात्र होइन, धेरै बालबालिका मिलि क्लवहरू बनाइ विभिन्न गतिविधिहरू गरी बालअधिकारका बारेमा छलफल गर्न, मागहरू राख्न, सचेतना फैलाउन सक्छन् । त्यही बेला सही लयमा अभियानहरू चलुन् भन्न बयस्कको आवश्यकता पर्छ । र त बालक्लवमा सहजकर्ता, शिक्षकहरूको व्यवस्था गरिएको हो । 

जसरी बालक्लवलाई सही मार्गमा लैजान सहजकर्ताको सही लय चाहिन्छ त्यसैगरी देशको बालअधिकार अभियान सही लयमा लैजान बालअधिकारकर्मी र संस्थाहरूको सञ्जालका लिडर पनि सही मार्गमा हिँड्नुपर्छ । बालबालिकाको क्षेत्रमा कार्यरत संस्थाहरूको साझा समूहको रुपमा झण्डै २० वटा सञ्जालहरू अहिले क्रियाशिल छन् । एक व्यक्ति, एक संस्था भन्दा पनि सामूहिकरूपमा कार्य गर्दा सकारात्मक नतिजा निकाल्न सकिन्छ भनेर सञ्जालहरू बनाइएको हो ।

सशस्त्र द्वन्द्वका बेला बालअधिकारकर्मीले के कसरी काम गर्ने ? बालअधिकारकर्मीमा हुनु पर्ने गुणहरू के के हुन् भनेर आचारसंहिता बनाइएको थियो । र प्राय सो आचारसंहिता सबैले पालना गर्थे । त्यती बेला देखाएको निष्पक्षताकाे कारण द्वन्द्वरत दुवै पक्षले बालअधिकारकर्मीलाई खासै दु:ख दिएका थिएनन् । र त बालबालिका शान्ति क्षेत्र हुन् भन्ने अभियान द्वन्द्वको उद्गम थलो रोल्पा, रुकुम र सल्यानमा सञ्चालन हुन सम्भव भएको थियो । र यो गाउँ गाउँ पुगेको थियो । जसको कारण बालबालिका र विद्यालयमा क्षति कम हुन सक्यो । त्यो पनि ‘किलोसेरा टु ’जस्ता अप्रेसनहरू चलिरहेको बेला । बालबालिका शान्ति क्षेत्र हुन् भन्ने अभियान देशभर पुग्यो । र घरमर गर्दै अहिले पनि सञ्चालनमा छ । 

२०६२/६३को जन आन्दोलनपछि जारी भएको अन्तरिम संविधान, त्यसपछि जारी भएका ऐन, नियमावाली कार्यविधिहरूमा बालअधिकारकर्मीले राम्रै योगदान गर्न सकेका थिए । नयाँ संविधानमा बालबालिकाका सवालहरू के के समेटिनुपर्छ भनेर धेरै  छलफलहरू भए । ‘बालअधिकार बहस’ सञ्चालनमा आयो । देशभरका बालबालिकासँग परामर्श भयो । संसदमा ककस बन्यो र संविधानको धारा ३९ मा बालबालिकाका हक समेटिए । बालसहभागितालाई मौलिक हकमा राख्न त्यती बेलाको नेतृत्व सफल भयो । बालबालिकाका विषयगत सवालहरूमा बनेका सञ्जालहरूलाई राज्यका निकायहरूले विषय विज्ञको रुपमा लिन थाले । बालबालिकाले पनि सारथी महशुस गर्न थाले । तर अहिले किन यो अवस्था छैन ? अवसरको हिसावले पहिला भन्दा झन धेरै काम गर्नु पर्ने छ र त्यही अनुसार गतिविधिहरू हुनु पर्ने हो तर किन हुन सकिरहेको छैन ? कतै नेतृत्वको निष्पक्षता र विषयगत दक्षतामाथि प्रश्न उठेर त  यस्तो भइरहेको छैन ? यो विषयमा बालअधिकारकर्मीहरूले छलफल गर्नुपर्ने बेला आएको छ या छैन ?

२०७२ सालमा जारी भएको संविधान अनुसार तीन तहको सरकार गठन भयो । प्रदेश र स्थानीय सरकारहरूलाई बालबालिका सम्बन्धी ऐन, नियमावली, कार्यविधि बनाउन मात्र होइन बालबालिकासँग जोडिएका अरु थुप्रै कामहरू गर्न सघाउ पुर्‍याउनुपर्ने सुन्दर अवसरलाई किन सञ्जालहरूले क्यास गर्न सकेनन् ? संघीय सरकारले बालबालिकासम्बन्धी ऐन २०७५ बनाउँदा बालबालिकाको क्षेत्रमा कार्यरत संस्थाहरूले थाहा पाएनन् भन्ने प्रमाण सोही ऐनमा नै उल्लेख छ ।

सञ्जालहरूसँग पर्याप्त छलफलपश्चात यो ऐन बनेको भए बालश्रमको यस्तो विवादित कुरा सो ऐनमा पर्नेनै थिएन । मिनि संसदको रुपमा रहेको संसदीय समितिले बालबालिकासँग प्रत्यक्ष जोडिएका मात्र होइन सरोकार राख्ने ऐनहरूको दफावार छलफल हुदाँ किन सञ्जालकहरू विज्ञको रुपमा त्यँहा जान सक्दैनन् ?

निवर्तमान सरकारले धेरै कानुनहरू लुकाएर बनायो । अर्थात विधेययकहरू संसदमा दर्ता भएपछि मात्र सार्वजनिक हुन थाले । त्यही कारण कति विधेययकहरू विवादमा पनि परे । बालबालिकासम्बन्धी ऐन पनि यसै गरी बनेको हो । ऐन पास भएको ४ वर्ष लाग्दै गर्दा पनि नियमावली आउन नसक्नुको मुख्य कारण  यही हो । गएको असारमा मन्त्रिपरिषदमा गएको नियमावली सरकार परिवर्तनको कारण पुनः मन्त्रालयमा फर्कियो । यो बेला सञ्जालका लिडरहरू कहाँ थिए ? नियमावली मन्त्रालयमा फिर्ता गर्नु हुन्न पास गर्नुहोस् भनेर किन डेलिकेसन जान नसकेको ? मन्त्रालयमा फिर्ता आएपछि पनि किन अहिले सम्म ढिला भयो भनेर खै प्रश्न उठाएको ? यसको एउटै कारण हो ‘निष्पक्षता’। विगतमा यो पार्टी, यो नेता राम्रो नराम्रो भनेर लेखेपछि कसरी तपाईँले अहिले यो माग सही हो या गलत हो भनेर मैदानमा खडा हुन सक्नुहुन्छ ?

आफनो अधिकारको सारथी मानेको र सहकार्य गरेको कारण बालबालिकाले बालअधिकारकर्मीहरूलाई पछ्याइरहेका हुन्छन् । नीति निमार्ण तहमा बस्नेहरूले पनि गतिविधि मुल्याङ्कन गरिरहेकै हुन्छन् । र महत्वपूर्ण पक्ष समाजलाई सही गतीमा बढाउन बालअधिकारकर्मीको ज्यादै महत्वपूर्ण भूमिका हुन्छ । यस्तो बेला बालअधिकारकर्मी कस्तो हुनु पर्छ भन्ने सवाल उठ्नु नौलो होइन । जहाँ विस्वास हुन्छ त्यहा प्रश्न र आशंका उब्जन्छ, यो स्वभाविक हो । एउटा बालअधिकारकर्मीले कस्तो बोल्छ, कस्तो कुरा सामाजिक सञ्जालमा राख्छ, सरोकारका विषयहरूमा बोल्छ या पक्षधरता देखाउँछ त्यसमा नै उनको नेतृत्व भर पर्छ । 

बालबालिकाको विषयमा उठेका सार्वजनिक सरोकारका विषयमा नबोल्ने, नलेख्ने ब्यक्ति बालअधिकारकर्मी हुन सक्दैन । अर्थात नीति, नियम, कार्यविधि, ऐन, योजनाहरू निमार्ण हुँदा मात्र हैन राजनीतिक दलका कार्यक्रम, घोषणा पत्र जस्ता विषयमा निष्पक्ष भइ केवल बालअधिकारको मात्र पक्षपोषण गर्छ भने बल्ल त्यो बालअधिकारकर्मी हो । नत्र एनजीओको कार्यकर्ता । अर्थात आफ्नो संस्थामा जे कार्यक्रम छ, बजेट छ त्यही आधारमा त्यही गतिविधिमा मात्र संलग्न हुने । हो, सबैको सबै विषयमा दक्षता हुँदैन । तर तपाईँको लेखाइ व बोलाइ कति बालअधिकारकर्मीको छ या एनजीओ कार्यकर्ता जस्तो छ भन्नेमा तपाईँको मुल्याङ्कन हुन्छ नै । त्यसैले सञ्जालहरूको नेतृत्वमा एनजीओ कार्यकर्ता हैन बालअधिकारकर्मी हुन जरुरी छ । अहिले चलिरहेका सञ्जाल र यसका नेतृत्वप्रति केही प्रश्न उठेका छन् । विगतमा पनि यस्ता प्रश्नहरू उठ्थे र ति छिटै समाधान हुन्थे, त्यसको एक मात्र कारण थियो, बालअधिकार र सामूहिक कार्य, अनि सकारात्मक नतिजा । तर अहिले सञ्जालहरू सामूहिक कार्यकालागि निर्देशित हुन सकिरहेका छैनन् । सबैलाई एउटै बास्केटमा हाल्न त मिल्दैन । तर पनि सबै सञ्जाल अभियान भन्दा पनि प्रशासनिकमा रमाइरहेका छन् । एउटा कार्यक्रम भयो दुईचार जनाले फेसबुकमा लेखे, दुईचारवटा अनलाइनमा समाचार आयो त्यही नै सफलता हो र ? कदापी होइन । 

राजनीतिक दल, प्रशासनिक निकाय, विद्यायकहरूलाई यस्तो हुनु पर्छ उस्तो हुनुपर्छ भनेर सिकाउनेहरू नै किन सामूहिक निर्णयमा विस्वास गर्दैनन् । किन पदअनुसारका पदवीहरू खोज्छन् ? किन विगतमा बाटो देखाउनेहरूलाई भुल्छन् ? बालबालिकाले के सिकिरहेका होलान् भनेर किन स्वमुल्याङ्कन गर्दैनन् ? केपी ओली, प्रचण्ड र देउवा बसेर निर्णय गरे जस्तो मात्र हो भने हामी फरक छौँ किन भन्ने ? यसले बालबालिकाले के सिक्छन् ? यस्ता सवालहरूका विषयमा सञ्जालमा बसेका लिडरहरूले बेलैमा विचार पुर्‍याउन जरुरी छ । 

हो, पार्टीलाई राम्रो, नराम्रो लेख्न पाइन्छ । तर त्यो उनीहरूको कार्यक्रम, गतिविधि हेरेर भन्न सकिन्छ । तर मलाई यो पार्टी मन पर्छ वा यो पार्टीमा म आस्था राख्छु भन्ने आधारमा बालअधिकारकर्मीले पार्टीको पक्षपोषण वा विरोध गर्न मिल्दैन । बालअधिकारकर्मीहरू पनि नागरिकसंगठन हुन् । उनीहरू प्राय सत्ताको विपक्षमा हुन्छन् । यसका केही कारणहरू छन् । सत्ताले जहिले पनि अधिकार खुम्चाउन खोज्छ । त्यो उसको विशेषता हो । खुम्च्याउन खोजेको अधिकारलाई व्यवहारमा ल्याउन त्यती सजिलो छैन । अझ बालबालिकाको लागि आवाज उठाउनु झनै चुनौतीपूर्ण छ । यस्तो बेला नागरिक संगठनको रुपमा रहेका सञ्जालहरूले खेलेको भूमिकालाई सम्मान गर्दै अझ परिस्कृत गर्न जरुरी भइसकेको छ । ताकी आउने पुस्ताले डोको फालेको कथा पुनः नकारात्मक तरिकाले पढ्न नपरोस् । बाल दिवसको सबैमा शुभकामना।
शिला पत्रबाट

प्रतिक्रिया